कोरोना संक्रमण रोकथामका लागि लकडाउन हुँदैन : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

१२ चैत, काठमाडौं । कोभिड-१९ को संक्रमण रोकथामका लागि लकडाउन नगरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्नुभएकाे छ । कोभिड-१९ को दोस्रो लहरबाट जोगिँदै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने उनले बताएका हुन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द र लकडाउन गर्ने सरकारको सोच नभएको बताए ।

‘कोभिडको दोस्रो लहरको चर्चा चलिरहेकाले हामी जोगिनु पर्छ । हामीले स्वास्थ्य मापदण्ड अपनाएर आर्थिक र सामाजिक क्रियाकलापलाई जारी नै राख्छाैं । सरकारले अहिले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन,’ उनले भने ।

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको बताए ।

कोभिड पछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

‘मुख्यगरी हामी कोभिड पछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना जस्ता विषयमा बढी केन्द्रीत हुन्छौं ।

नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउन गर्नुपर्ने निर्णय लिने गरी बजेट लिएर आउँछौं, ’ उनले भने ।

अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि स्पष्ट पारे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment