कोरोना कहर : सुदूरपश्चिमका अधिकांश जिल्लामा सामूहिक होली खेल्न रोक

१२ चैत, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेपछि कैलाली लगायतका जिल्लामा सामूहिक होली रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै जिल्लाभर होलीमा भिडभाड गर्न रोक लगाएको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

्विज्ञप्तिमा एक ठाउँमा भेला हुन, जात्रा, पर्व, भिडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउन रोक लगाएको छ । यस वर्ष होली यही चैत १५ र १६ गते परेको छ ।

यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । कैलालीमा भारतसँग सीमा जोडिएकाले नाकामा बाहिरबाट नागरिकको एन्टिजोन विधिमार्फत् परीक्षण गर्न थालिएको छ ।

आदेशको अवज्ञा गरे कारबाही हुने कैलाली प्रशासनले जनाएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि विभिन्न गतिविधिमा रोक लगाएको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै गएको र सीमा जिल्ला कञ्चनपुरमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रशासनले विभिन्न गतिविधिमा रोक लगाएको हो । पहाडी जिल्ला डडेल्धुरा र बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । दुवै जिल्लाका प्रशासनले सूचना जारी गर्दै फागु पूर्णिमा (होली) मा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

डडेल्धुरामा मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment