मोरङमा फेरि बढ्दै कोरोना संक्रमण, नयाँ प्रकारकाे भएकाे आशंका

१० चैत, विराटनगर । मोरङमा पुनः कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंका गरिएको छ । महामारी नियन्त्रणपछि सामान्य अवस्थामा फर्किएको प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङमा पुनः नयाँ संक्रमित भेटिन थालेका हुन् ।

पुनः संक्रमण सुरु भएपछि भारतबाट भित्रिएको नयाँ भेरियन्टको कोरोना भाइरसको आशंका गरिएको छ । केही दिनयता भारतमा कोरोना संक्रमण दर उच्च छ । नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएको पाइएको छ ।

पछिल्लो चार दिनभित्र मोरङमा १० जना कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये छ जना विराटनगरका हुन् । साथै सुन्दरहरैँचा नगरपालिकाका तीन र पथरीशनिश्चरेका एक जना छन् ।

दुई महिनायता कोरोना नदेखिएको विराटनगरमा नयाँ भेटिएका संक्रमितमध्ये चार जना पुरुष र दुई महिला छन् । यसअघि संक्रमण नियन्त्रणमा आएको भन्दै विराटनगर महानगरपालिकाले पीसीआर परीक्षण बन्द गरेको थियो । महानगरले स्वाब संकलन केन्द्र पनि बन्द गरेको अवस्थामा चैत ५ गतेयता भने विराटनगरमा नयाँ संक्रमित भेटिन थालेका हुन् ।

निक्कै लामो समयपछि प्रदेश १ मा चैत ५ गते आठ जनामा संक्रमण देखिएको थियो । जसमा तीन जना विराटनगरका थिए । चैत ६ गते विराटनगरमा एक जनामा संक्रमण देखिँदा प्रदेशमा छ जनालाई कोरोना पुष्टि भयो । चैत ७ गते नयाँ कोरोना संक्रमितको संख्या शून्य रहयो । तर ८ गते विराटनगरमा एकसहित प्रदेशमा दुई जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आयो ।

कोरोनाका नयाँ बिरामी भेटिन थालेपछि भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्ने विराटनगरको रानी नाकामा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन थालेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आवतजावतमा रोक लगाएर एक वर्षदेखि जारी नाका बन्द यथावत राख्दै भारतबाट नेपाल प्रवेश गर्नेको एण्टीजेन परीक्षण गर्न थालिएको जानकारी दिए । नेपाल प्रवेश गर्नेमा कोरोना भए÷नभएको तत्काल पुष्टि गर्न परीक्षण गर्न थालिएको उनको भनाइ छ ।

नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ जोडिएसँगै भारतसँग सीमा जोडिएका नाकामा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको निरौलाले बताए । उनका अनुसार नयाँ संक्रमित भेटिन थालेपछि भारतमा सुरु भएको कोरोनाको दोस्रो लहरको असरका रुपमा लिइएको छ । भारतमा दोस्रो फेजमा फैलिएको नयाँ भेरियन्टको भाइरस प्रदेश १ मा प्रवेश गरेको आशंका गरिएको हो । तर नयाँ भेरियन्ट हो या हैन भन्ने यकिन गर्न परीक्षण भने गरिएको छैन ।

नयाँ संक्रमितको ‘कन्ट्याकट ट्रेसिङ’ पनि भएको छैन । पीसीआर कलेक्सन बन्द गरेका कारण महानगरपालिकाले ‘कन्ट्याकक्ट ट्रेसिङ’ गर्न नसकेको हो । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले नयाँ बिरामी भेटिन थालेपछि भारतमा फैलिएको दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हुनसक्ने आशंका गरे । अब तत्कालै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सुरु गरिने जानकारी उनले दिए ।

कोरोना नियन्त्रणमा आएपछि सर्वसाधारण सामान्य दैनिकीमा फर्किए पनि ढुक्क हुनसक्ने अवस्था नरहेको कार्कीको भनाइ छ । उनले कोरोनाबाट बच्न सामाजिक दूरी कायम राख्दै स्वास्थ्य मापदण्डको पालना गरेर सतर्कता अपनाउनुको विकल्प नरहने बताए । भारतबाट आउनेहरुका लागि नाकामा जाँच गर्दै तापक्रम उच्च भएकाहरुको एण्टीजेन जाँच गर्ने तयारी महानगरको रहेको कार्कीले बताए ।

कोसी अस्पताल विराटनगरमा मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले पीसीआर परीक्षण गराउँदा नयाँ संक्रमित भेटिन थालेकाले थप जोखिम बढ्दै गएको पुष्टि हुने बताए । पछिल्लो चरणमा देखिएको संक्रमण दोस्रो फेजको कोरोना हुनसक्ने उनको भनाइ छ । खुला सीमा भएकाले भारतबाट सहजै रुपमा संक्रमण भित्रने बताउँदै डा. दासले सतर्कता नअपनाए अवस्था थप जटिल र भयावह बन्न सक्ने जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment