यार्सा टिप्न जाने विद्यार्थीलाई पाटनमै पढाइ

०६ चैत, सुर्खेत । कर्णालीका हिमाली जिल्लामा यार्सा टिप्न खर्कमा पुगेका विद्यार्थीलाई पढाउन अब शिक्षकहरू पनि सोही स्थानमा पुग्ने भएका छन् । यार्सा टिप्न पाटनमा पुगेका विद्यार्थी दुई महिनाको हाराहारीमा पूरै पठनपाठनबाट वञ्चित भई उनीहरूको सिकाइ उपलब्धि नै प्रभावित हुने भएपछि शिक्षकलाई पढाउने स्थानमा पठाइने भएको हो ।

कर्णालीका विद्यार्थीको समग्र शैक्षिक अवस्थामा सुधार ल्याउन प्रदेश योजना आयोगले यस खालको नयाँ अवधारणा अगाडि सारेको हो । आयोगका सदस्य योगेन्द्र शाहीले विद्यार्थी झण्डै दुई महिना जति आफ्ना अभिभावकसित यार्सा टिप्नमै व्यस्त हुने भएपछि सोही स्थानमा कक्षा सञ्चालन गर्ने गरी आफूहरूले तयारी अगाडि बढाएको जानकारी दिनुभयो । यसो हुन सके यार्सा टिपेकै अवस्थामा पनि विद्यार्थीको पठनपाठनले निरन्तरता पाउने छ ।

खर्कमा अध्ययन गर्न स्थानीय विद्यालयका शिक्षकहरूसित समन्वय गरी केही शिक्षक खटाउने योजना बनाइएको छ । कार्यरत रहेका शिक्षकलाई सो स्थानमा गएर थप पठनपाठन गराएबापत केही सुविधा दिने हिसाबले योजना बनाउन लागिएको छ । यसबाट शिक्षक पनि उत्साहित भएर सो स्थानमा पुग्ने र विद्यार्थीको पढाइ पनि निरन्तर हुने उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment