विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

०५ चैत, विराटनगर । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ। कोइराला परिवारका हस्तीमध्येका एक मानिने उनको ७७ वर्षको उमेरमा बिहीबार बिहान १ बजेतिर विराटनगरको न्युरो अस्पतालमा निधन भएको कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कोइरालालाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो। तर अस्पताल भर्ना गरिएको २४ घण्टा पुग्न नपाउँदै उनको मृत्यु भएको हो।

रेग्मीले उपचारमा संलग्न चिकित्सकले बिहान १ बजेतिर कोइरालालाई मृत घोषित गरेको जानकारी दिए। ‘स्वास्थ्यमा समस्या देखिनसाथ उपचारका लागि अस्पताल पुर्‍याइएको थियो,’ उनले भने, ‘चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सम्भव नहुँदा कांग्रेसको एउटा धरोहर ढल्यो।’ सचिव रेग्मीका अनुसार यसअघिसम्म स्वास्थ्यमा त्यस्तो कुनै समस्या नदेखिएका कोइरालामा पछिल्लो समय निमोनियाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका कोइराला संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्। नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेको रेग्मीले बताए। विराटनगर अहिले महानगरपालिका घोषित भइसकेको छ।

अशोक नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन्। सचिव रेग्मीका अनुसार बुबा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा विराटनगरकै कोइराला निवासमा उनको जन्म भएको थियो। सुशील भने परिवारको साइँलो छोरा रहेको उनको भनाइ छ।

२०४४ सालमा अशोक कोइराला नेपाली कांग्रेसको जिल्ला सभापति बनेको जानकारी रेग्मीले दिए। एक समय राजनीतिमा निक्कै सक्रिय रहेका कोइराला पछिल्लो समय निस्क्रियजस्तै थिए। तर पनि नेतृत्वदायी र अभिभावकीय भूमिकामा रहेर पार्टीका सभा, सम्मेलन तथा विभिन्न कार्यक्रमहरुमा उनको सहभागिता रहने गरेको कांग्रेसका क्षेत्रीय सचिव रेग्मीले बताए।

श्रद्धाञ्जलीपछि शव यात्रा

अस्पतालबाट ल्याएर उनको शव विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ। कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ताको भीड लागिरहेको जानकारी सचिव रेग्मीले दिए।

उनका अनुसार श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिने छ। त्यसपछि बिहीबार बिहान ११ देखि १२ बजेबीचमा विराटनगरकै सिंघीया घाटमा कोइरालाको अन्त्येष्टि हुने रेग्मीले बताए। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले कोइरालाको दुःखद् निधनले सिंगो कांग्रेस पार्टी र विराटनगर महानगरपालिका स्तब्ध एवं मर्माहत बनेको उल्लेख गरेका छन्। साथै महानगर प्रमुख पराजुलीले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

‘कोइरालाको निधनसँगै कांग्रेसले नेपाली राजनीतिका होनहार अभिभावक गुमाएको छ। नेपाली राजनीतिको एउटा इतिहास ढल्न पुग्यो,’ उनले भने, ‘कोइरालालाई गुमाउनु पर्दा विराटनगरसहित सिंगो मुलुकलाई अपुरणीय क्षति पुगेको छ। राजनीतिका मार्गदर्शक गुमाउनु पर्दा सबै क्षेत्र स्तब्ध बन्यो।’ विगतमा कोइरालाले देखाएको बाटो र निर्वाह गरेको भूमिका सबैका लागि प्रेरणाको स्रोत र राजनीतिक यात्राको एउटा आधार बनेको पराजुलीको भनाइ छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment