नेपाल–खनालको राष्ट्रिय कार्यकर्ता भेला आजबाट शुरु

०४ चैत, काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकता भेला आज सुरु हुँदैछ । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार पत्रकार सम्मेलनमा आज र भोलि ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला हुने जानकारी दिएका हुन ।  

बिहान ११ बजे भेला सुरु हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सचिव भट्टराईले जानकारी दिएका छन् ।सचिव भट्टराईले नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेलाई विभाजनतर्फ लाने भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध आफूहरू दृढतापूर्वक उभिएको बताएका थिए ।

आफूखुसी बैठकका नाममा गुटका गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासविरुद्ध भेलाको आयोजना गरीएको सचिव भट्टराईको तर्क छ ।

एमालेको नेपाल–खनाल समूहले जनताको बहुदलीय जनवादको मूल्य र मान्यता रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा विकास एकताबद्ध हुनुपर्ने भएकाले भेला आयोजना गरिएको जनाएको छ । त्यसका लागि पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी छ ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने सचिव भट्टराईले बताए ।

नेकपाको ओली समूहले भने भेला रोक्न भन्दै नरोके भेला आयोजना गर्ने र सहभागी हुने सबैलाई कार्वाही गर्ने चेतावनी दिइसकेको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कुनै पनि गुटको भेलामा सहभागी नहुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment