सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

१ चैत, काठमाडौँ । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो ।

कांग्रेस आन्तरिक रूपमा त्यसतर्फ अघि बढिरहेको छ । कांग्रेसभित्र सरकारको नेतृत्व लिने पक्षमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला एक मत छन् । वरिष्ठ नेता पौडेल र सिटौलाले देउवालाई सरकारको नेतृत्वका लागि अघि सर्न आग्रहसमेत गरिरहेका छन् । यद्यपि, देउवा केही दिन अघिसम्म कांग्रेस नेतृत्वमा जान नहुने अडानमा थिए ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए तर हतार नगरी भरपर्दो वातावरणको सुनिश्चितता कांग्रेसले खोजिरहेको उनले जानकारी दिए । ‘सरकारको नेतृत्व लिन कांग्रेस तयार छ तर हतार गर्ने कुरा होइन, जोड– घटाउको कुरा हुन्छ । त्यसका लागि भरपर्दो वातावरण बनाउँदै अघि बढ्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने । यो खबर आजको राजधानी दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment