बैंक काण्डः गरिमा विकास बैंककाे लापार्वाही

२८ फागुन, काठमाडौं । जनताले  रकम आर्जन गरिसकेपछि त्यसलाई बचाउने संस्थाको रुपमा बैंकलाई लिन्छन् । तर पछिल्लो समय बैंकमा ग्राहकको पैसा असुरक्षित बन्न थालेको छ । यसरी ग्राहकको पैसा असुरक्षित बनाउने  बैंकको सूचिमा थपिएको छ– गरिमा विकास बैंक । 

गएको तिहारताका एकजना ग्राहकको ३ लाख रुपैयाँ गायव भएको यस बैंकबाट गत फागुन ६ गते फेरि अर्को ग्राहकको ४ लाख रुपैंयाँ गायव भयो । बैंकको पोखरास्थित बिरौटा शाखाबाट स्थानीय कला तिवारीको रकम गायव भएको हो । उक्त रकम तिवारीले घर बेचेर त्यही दिन दिउँसो जम्मा गरेको थिइन । उनकाअनुसार घर बेचेको ७ लाख ३० हजार रकम उक्त शाखामा राखेकी थिइन ।

उनको मोबाईलमा राती साढे दश बजे पहिलो म्यासेज आयो, खासै ख्याल गरिनन् । फेरि १२ बजे अर्को म्यासेज आएपछि भने उनले छोरालाई बोलाएर म्यासेज देखाइन् । छोराले पनि त्यो म्यासेज स्पष्ट ठम्याउन नसकेपछि बुहारीलाई म्यासेज देखाइन । त्यतिबेलासम्म दुई लाख निस्किसकेको थियो ।

आफ्नो खाताबाट त्यत्रो पैसा निकालेको थाहा पाउँदा थररर कामेको बताउने तिवारीको मोबाईलमा फेरि पनि लगातार म्यासेज आइरह्यो । कहिले ५० हजार, कहिले ३० हजार, २५ हजार, १ हजार हुँदै पैसा निकालेको म्यासेज आईरहे । उनी भने रोइरहिन् । यसो गर्दै बिहान ३ बजेसम्म ४ लाख निकालेको म्यासेज आयो । त्यसपछि भने म्यासेज आउन बन्द भयो ।

म्यासेज आइरहेको समयमा बैंकमा फोन प्रयास पनि गरिन् तर राती फोन उठेन । बिहान बल्ल बैंकका कर्मचारीको सम्पर्कमा पुगिन् । ९ बजे पक्का भयो ४ लाख रकम निकालिएको रहेछ । त्यस यता उनलाई निद्रा पर्न र खाना रुच्न छोडेको छ ।

यस विषयमा उनीसँग सम्पर्क गर्दा बैंकले शुक्रबारसम्म खातामा रकम फिर्ता गरिदिने आश्वासन दिएको बताइन् । उनी भन्छिन– ‘सरले शुक्रबारसम्म जसरी पनि खातामा पैसा जम्मा भइसक्छ भन्नु भएको छ । अलिकति भएपनि ढुक्क भएकी छु ।’

के भन्छ बैंक ?

कला तिवारीको रकम गायव भएको विषयमा बिरौटा शाखाका प्रमुख कमल सुबेदीसँग प्रतिक्रिया माग्दा सबै प्रविधि, प्रक्रिया र अधिकार केन्द्रीय कार्यालयको भएकोले आफूले केही नबोल्ने बताए ।

बैंकका बजार प्रमुख भक्त केसीसँग बुझ्न खोज्दा यस घटनामा तिवारी परिवार नै दोषी भएको बताए । कसैले इमोमार्फत पचासौं लाखको चिट्ठा परेको बताएपछि उनीहरु लोभिएको आरोप केसीको छ । ‘चिट्ठा पर्‍यो खाता नम्बर पठाउनुस् भनेपछि उहाँहरुले आफ्नो खाता नम्बर दिनुभयो । चिट्ठा पर्‍यो भन्नेले हाम्रो बैंकको एप डाउनलोड गरेपछि ओटिबी माग्यो, त्यो पनि दिनु भयो । त्यसपछि उसले पैसा निकाल्यो ।’ केसीले भने ।

शुक्रबार रकम खातामा कसरी जम्मा हुन्छ त ?
भन्दा केसीले उक्त रकम बैंकमा फिर्ता नआएसम्म फिर्ता दिन नसकिने बताए । ग्राहकले गरेको गल्तीको भागिदार बैंक बन्न नसक्ने बताउँदै केसीले सिआईबीले छानविन गरिरहेकोले पूरा छानविन र रकम फिर्ता नआई तिवारीलाई दिन नसकिने बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment