३ करोडको फर्निचर उद्योग उद्घाटन नहुँदै खरानी, २ घण्टामा नियन्त्रणमा आयो आगेको आगो

२२ फाल्गुन, कैलाली । उद्घाटनको तयारीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । आलोक मल्टी कन्सर्न प्रा.लि. नामको उद्योगमा शनिबार दिउँसो १२ बजे अचानक आगलागी भएको हो ।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शो रुमसहितको उद्योगमा आगलागी भएको स्थानीय विमल बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगलाई फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको थियो ।

३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी गर्ने तयारी थियो । उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थियो । झण्डै २२ जना कामदार रहेको उद्योगले उत्पादनसँगै आफैँले विक्रि गर्ने लक्ष्य लिएको थियो ।

उद्योग भएको स्थानमा वेल्डिङको काम भइरहेकाले त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट तीन करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् । सञ्चालकका अनुसार उद्योगमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण र कारण खुल्न भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment