प्रकाशमान सिंहलाई प्रधानमन्त्री बनाउन लबिङ सुरु

१६ फागुन, काठमाडौं । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न पूर्वतयारीहरु हुन थालेको छ । देउवा प्रतिनिधि सभा पुनःस्थापनाको विपक्षमा उभिएको भन्दै उनलाई रोक्न काँग्रेसभित्रको एउटा समूहले पूर्व तयारी थालेको हो ।

देउवाको विकल्पमा महामन्त्री डा. सशांक कोइराला या पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अगाडि सार्ने पूर्वतयारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले सक्रियता बढाएका हुन् । उनीहरुले देउवाले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएकाले प्रतिनिधि सभाको पुनःस्थापनाको अवस्थामा सरकारको नेतृत्वको जिम्मेवारी पाएमा विकल्पमा अन्य नेतालाई सार्न लागेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य नभएको र पौडेल समूहमा मुख्य दाबेदार सशांक कोइराला र प्रकाशमान सिंह रहेकाले उनीहरुमध्ये एकलाई अगाडि सार्न खोजिएको छ । कोइराला अहिले सरकारको नेतृत्वका लागि जाने पक्षमा नभएको बुझिएको छ । सिंहलाई त्यसका लागि अगाडि बढाउन खोजिएको छ ।

यसअघि संसदीय दलको नेताको प्रतिष्पर्धामा देउवासँग पौडेल समूहबाट प्रकाशमान सिंह चुनाव लडेका थिए । उनी देउवासँग पराजित भएका थिए । पछिल्लो समय सिंह पार्टी सभापतिको दाबेदारका रुपमा पनि प्रस्तुत हुँदै आएका छन् ।

नेकपा वैधानिक रुपमा विभाजित भएमा सत्ता समिकरण गर्दा काँग्रेस निर्णायक शक्ति बन्न सक्छ । त्यतिबेला काँग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । अहिले देउवा संसदीय दलको नेता छन् । उनलाई प्रतिनिधि सभा पुनःस्थापना नहुँदै नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । प्रतिनिधि सभा पुनःस्थापनाको सर्वोच्चको फैसला आएपछि १२ फागुनमा देउवालाई पुनः भेटेर दुवै नेताले सत्ता समिकरणको प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओली पनि सत्ता छाड्नुपरे प्रचण्ड र माधव नेपालभन्दा अरुलाई छाड्ने रणनीतिसहित तयार भएको चर्चा छ । उनले पहिलो विकल्पमा देउवालाई राख्ने सम्भावना औल्याइएको छ । यही अवस्थाबीच देउवालाई भने पार्टीभित्रैबाट रोक्ने प्रयास सुरु भइसकेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment