नशालु पदार्थ सुँघाएर बेहोस बनाएर मध्यरातमा लुटपाट

१५ फाल्गुन, विराटनगर । महिलालाई नशालु पदार्थ सुँघाएर बेहोस बनाउँदै मोरङको केराबारी गाउँपालिका–७ चौबिसेस्थित एउटा घरभित्र शुक्रबार मध्यरातमा लुटपाट मच्चाइएको छ ।

घरधनी गणेशबहादुर विक काम विशेषले केराबारीकै पाटी गाउँतिर गएको र घरमा दुई नाबालक छोराछोरीसहित उनकी श्रीमती मात्रै भएको अवस्थामा लुटपाट मच्चाइएको हो । वडाध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूले घटना भएका बेला ११ र १३ वर्षका छोराछोरीसँग गणेशबहादुरकी श्रीमती उर्मिला विक मात्रै घरमा रहेको जानकारी दिए ।

उनका अनुसार घरमा पालेको भैँसीको पाडो बाँधेको ठाउँबाट खुस्किएको हुनसक्ने ठानेर राति ११ बजे घरको ढोका खोलेर उर्मिलाले बाहिर निस्कने प्रयास गरेकी थिइन् । तर ढोकाबाट बाहिर निस्कन नपाउँदै मास्क लगाएर आएका अपरिचित दुई नकावधारी युवाले नियन्त्रणमा लिएर नशालु पदार्थ सुँघाउँदै उनलाई बेहोस बनाएर घरभित्र पसी लुटपाट मच्चाएको लिम्बूको भनाइ छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लुटपाटमा संलग्नले घरभित्र रहेको ४० हजार रुपैयाँ नगद र एक तोलको सुनको सिक्री लुटेर लगेको जानकारी दिए । भतिज द्रोण विकले सापटीवापत लगेको उक्त पैसा उर्मिलालाई दुई दिनअघि मात्रै फिर्ता दिएका हुन् ।

द्रोणले केही दिनअघि ४५ हजार रुपैयाँ सापटी लगेका थिए । तर फिर्ता गरेपछि पाँच हजार खर्च भएको र बाँकी ४० हजार घरमै राखिएको अवस्थामा लुटिएको पुष्टि भएको प्रहरीले जनाएको छ । एसपी खड्काका अनुसार महिलालाई नशालु पदार्थ सुँघाए बेहोस बनाउँदै लुटपाट गरिएको खुलेको छ ।

‘मध्यरातमा घरको ढोकाबाट बाहिर निस्कन खोज्दा घाँटीमा समाउँदै नशालु पदार्थ सुँघाएपछि महिला बेहोस बनिछन्,’ उनले भने, ‘त्यसपछि दुई जना घरभित्र पसेर नगद र सुनको सिक्री लिएर फरार बनेको पाइयो ।’ शनिबार बिहानसम्म सामान्य अवस्थामा रहेर प्रहरीलाई घटनाका बारेमा जानकारी दिएकी उर्मिला शनिबार दिउँसोबाट पुनः बेहोस बनेकी छन् । उनले आफू होसमा आउँदा घरभित्र रहेको नगद र सुनको सिक्री लुटिएको अवस्थामा पाएको प्रहरीलाई बताएकी थिइन् ।

पुनः बेहोस बनेपछि स्थानीय स्वास्थ्य संस्थाले उपचार सम्भव नहुने जानकारी दिएर उनलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जानकारी वडा अध्यक्ष लिम्बूले दिए । महिलामाथि कुनै कुटपिट र आक्रमण भने नभएको एसपी खड्काको भनाइ छ । उनले घटनामा संलग्नका बारेमा पहिचान हुन नसकेको र लुटपाट गर्नेको पहिचान एवं खोजी तीव्र पारिएको बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment