राजनीतिक अस्थिरताको असर नेप्सेमा, लगानीकर्ताको तीब्र चासो, कता जाला नेप्से ?

१४ फाल्गुन, काठमाडौं । यस साता राजनीतिक अस्थिरताको असर नेप्सेमा पनि देखिएको छ । गत साताको तुलनामा ३.१३% ले घटेर यस साता नेप्से सूचक २५५४.१४ विन्दुमा बन्द भएको छ । गत साता नेप्सेको अन्तिम विन्दु २६३६.६८ थियो । बिहीबार ६.०९८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

लगातार बढ्दो क्रममा रहेको सेयर बजारमा यो साता भने ३ प्रतितशतमाथिको करेक्सन देखिएको छ । यो साता सेयर बजारले २६४०.३५ अंकको ऐतिहासिक उचाइ कायम गरे पनि साताको अन्तिम दिन आउँदा नेप्से अघिल्लो साताको भन्दा ३.१३ प्रतिशतले घटेको छ ।

गत साता नेप्से २६३६.६८ अंकको ऐतिहासिक उचाइममा बन्द भएको थियो । यो साताको पहिलो कारोबार दिन नेप्सेमा सामान्य वृद्धि भएर उक्त रेकर्ड तोडेको थियो । आइतबार बढेको बजार परिसूचक सोमबार र मंगलबार लगातार दुई दिन घट्यो । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै बुधबार भने नेप्से केही बढ्यो, तर साताको अन्तिम कारोबार दिन बिहीबार पुन: नेप्से ओरालो लाग्दा यो साता बजार परिसूचक समग्रमा ८२.५४ अंकले घटेर २५५४.१४ अंकमा बन्द भएको छ ।

बजार परिसूचकमा करेक्सन हुँदा यो साता बजार पुँजीकरण पनि घटेको छ । गत साताको तुलनामा बजार पुँजीकरण ३.१३ प्रतिशतले घटेर ३५ खर्ब १९ अर्ब ४९ करोडमा झरेको छ । गत साता धितोपत्र बजार पुँजीकरण ३६ खर्ब ३३ अर्ब २२ करोड थियो ।

बैंकिङ प्रणालीमा तरलता घट्दै जाँदा सहज रुपमा सेयर धितो कर्जा दिन छोड्नु, लगानीकर्ता नाफा बुक गरेर अन्य लगानीतर्फ लाग्नुलगायत कारण यो साता बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । प्रतिनिधिसभा पुन:स्थापना भए पनि अब कसको नेतृत्वमा सरकार बन्ने हो र उक्त सरकारले पुँजीबजारलाई कुन रुपमा लिन्छन् भन्ने अन्योल पनि लगानीकर्तामा देखिएको छ ।

जसले गर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । यस्तै सात महिनाको अवधिमा १२० प्रतिशतभन्दा माथिले बढेको बजारमा राम्रो करेक्सन नभएको अवस्थामा अब केही करेक्सन हुनसक्ने आकलन पनि लगानीकर्ताले गरेका छन् ।

सेयर बजारमा यसअघि राजनीतिले पनि केही प्रभाव पारेको विश्लेषणहरु भएको थियो । तर यही साता प्रमुख राजनीतिक मुद्दाको छिनोफानो भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेको छ । यसर्थ, बजार राजनीति भन्दा पनि स्वभाविक करेक्सनमा गएको अर्कोथरिको विश्लेषण छ ।

गत साता ४४ अर्बमाथिको कारोबार भएको बजारमा यो साता भने ३८ अर्बमा झरेको छ । यो साता बजारमा ९ करोड ६२ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ३८ अर्ब ६० करोडको कारोबार भएको छ । जुन औसत प्रतिदिन ७ अर्ब ७२ करोड हो ।

किन भने नेप्से सूचकले सजिलै २६०० विन्दु पार गरेको थियो । सूचक यो उचाईमा आइपुग्दासम्म खासै ठूलो अंकमा करेक्सन भएको थिएन । त्यसैले अझै उचाई बनाउनुअघि नेप्से सामान्य करेक्सन मुडमा गएको भन्नेहरु पनि बजारमा रहेका छन् ।

बजारको स्वभाविक करेक्सनबाट आम लगानीकर्ता आत्तिनु नपर्ने विश्लेषकहरु बताउँछन् । करेक्सनपछि बजार थप बलियो हुनेछ । अनि, अर्को उचाई तय गर्नका लागि नेप्सेलाई सजिलो हुनेछ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि अहम भूमिका खेल्ने भएकाले सर्वसाधारण लगानीकर्ता बजारप्रति सकारात्मक हुन आवश्यक छ ।

केही दिन बजार करेक्सन भए पनि फेरि माथि जान सक्ने अनुमान धेरैको रहेको छ । किन भने बजारको बुलिस चक्र जारी छ । ब्याजदर सस्तो छ । सेयर कर्जा सजिलै पाइने अवस्था छ । सेयर बजारसम्बन्धी नीतिनियमहरु सुधारोन्मुख रहेका छन् । बजार प्रविधिमैत्री बनिरहेको छ ।

यस साताभर दैनिक कारोबार रकम घट्दो क्रममा देखिएको छ । बिहीबार सबैभन्दा न्यून ६.०९८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने आइतबार सबैभन्दा धेरै ८.८३ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । औसतमा यस साता दैनिक ७.७२ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

यस साता हाइड्रोपावर बाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । हाइड्रोपावर समूह भने गत साताको तुलनामा ३.४०% ले बढेको छ । बैंकिङ समूहमा सबैभन्दा धेरै ४.६४% ले गिरावट आएको छ । त्यसपछि, जीवन बिमा समूह ४.६२% र विकास बैंक समूह ३.४६% ले घटेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment