नेपालमा बैंकका सीइओको सुविधा र तलब कस्ताे छ?

१३ फागुन, काठमाडौं । नेपालमा राम्रो तलब सुविधा लिनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी पर्छन् तर अन्य क्षेत्रको तुलनामा आकर्षक सुविधा बैंकिङ क्षेत्रमा बढी हुन्छ ।

राम्रो सेवा सुविधा, रोजगारीको सुरक्षा र कार्यालय भित्रै बसेर काम गर्नुपर्ने भएका कारण निजी क्षेत्रको रोजगारी मध्येकै प्रमुख आकर्षण बैंक तथा वित्तीय संस्थामा बनेको छ ।

त्यसमा पनि वाणिज्य बैंकमा सबैभन्दा बढी तलब प्रमुख कार्यकारी अधिकृत (सीइओ) को नै हुने भयो । सीइओले बैंकबाट मासिक तलबको अतिरिक्त विभिन्न सुविधा पाएका हुन्छन् ।

प्रत्येक बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतसहित बैंकका सञ्चालक समिति र उच्च व्यवस्थापनले पाएको तलब तथा अन्य सुविधा उल्लेख गर्नुपर्ने व्यवस्था छ । सो अनुसार हालसम्म वार्षिक साधारण सभा सम्पन्न गरेका बैंकहरुले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा सीइओलाई दिएको तलब उल्लेख गरेका छन् ।

कुन बैंकको सीइओको कति तलब ? 

नेपाल इन्भेष्टमेन्ट बैंकः ज्योतिप्रकाश पाण्डे
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गत आर्थिक वर्ष २०७६–७७ मा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

पाण्डेले तलबवापत मात्रै १ करोड ६० लाख ७६ हजार रुपैयाँ बुझेका हुन् । यसबाहेक उनले भत्तावापत १ करोड ७ लाख १७ हजार रुपैयाँ लिएका छन् । बैंकले उनलाई २२ लाख ३३ हजार रुपैयाँ दशैं भत्ता दिएको छ ।

सञ्चय कोषमा उनको नाममा १६ लाख ८ हजार रुपैंयाँ बैंकले जम्मा गरिदिएको छ । पाण्डेले यसबाहेक नियम अनुसार बोनस पनि प्राप्त गर्छन् । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उनले प्राप्त गरेको बोनस रकमलाई भने समावेश गरेको छैन । 

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल: अनिर्वाण घोष दास्तीदार  
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीइओ अनिर्वाण घोष दास्तीदारले तलब भत्ता तथा बोनस सुविधा वापत गत आर्थिक वर्ष २०७६–७७ मा ३ करोड ९८ लाख रुपैयाँ बुझेका छन् ।

उनले गत आर्थिक वर्षमा तलब तथा बोनस बापत २ करोड ८७ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, उनले अन्य विभिन्न सुविधावापत १ करोड १० लाख रुपैयाँ लिएका छन् । 

बैंक अफ काठमान्डू: शोभनदेव पन्त
एक वर्षमा बैंक अफ काठमान्डूका सीइओ शोभनदेव पन्तले २ करोड ८१ लाख ३ हजार ७९० रुपैयाँ कमाएका छन् ।

बैंकले सार्वजनिक गरेको २०७६–२०७७ को वार्षिक प्रतिवेदनमा सीइओ पन्तलाई उक्त रकम दिइएको उल्लेख छ । यसमा नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत समावेश भएको छ । आर्थिक वर्ष २०७५–२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर २ करोड ३२ लाख ८५ हजार ४९४ रुपैयाँ लिएका थिए ।  

माछापुच्छ्रे बैंकः सन्तोष कोइराला  
माछापुच्छ्रे बैंकले अघिल्लो वर्ष प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । बैंकले खर्च गरेको यो तलब तथा सुविधा सुमन शर्मा र सन्तोष कोइराला समेतको हो । शर्माले कार्यकाल सकिनु अगावै राजीनामा दिएपछि कोइराला निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी पाएका थिए ।

वैशाख १ गतेदेखि उनलाई पूर्णकालीन सीइओको जिम्मेवारी दिइएको थियो । अघिल्लो वर्ष बैंले सीइओका लागि १ करोड १८ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो । समय अगावै बाहिरिएपछि शर्मालाई दिनुपर्ने अतिरिक्त सुविधाका कारण बैंकको व्ययभार थपिएको हो । 

कुमारी बैंक: सुरेन्द्र भण्डारी
एक वर्षमा कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ कमाएका छन् । आर्थिक वर्ष २०७६–२०७७ मा तलब वापत १ करोड ७ लाख ४७ हजार ६९९ रुपैयाँ लिएका छन् भने ४५ लाख ६७ हजार ७७२ रुपैयाँ भत्ता बुझेका छन् । साथै, दशैं भत्ता १३ लाख ९ हजार १५ रुपैयाँ बुझेका छन् ।

त्यस्तै, वार्षिक र संचित विदा वापत ८ लाख ९५ हजार ६४२ रुपैयाँ र अन्य सुविधा वापत ६३ लाख ४० हजार ९२७ रुपैयाँ बुझेका छन् । आर्थिक वर्ष २०७५–२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर २ करोड १४ लाख ६३ हजार ४७७ रुपैयाँ लिएका थिए ।  

एनआइसी एसिया बैंक: रोशन न्यौपाने  
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत वर्ष २ करोड ५० लाख रुपैयाँ बुझेको बैंकको वार्षिक विवरणमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७५–२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर २ करोड १३ लाख रुपैंयाँ पाएका थिए । 

नेपाल बैंक: कृष्णबहादुर अधिकारी 
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आर्थिक वर्ष २०७६–७७ मा ४६ लाख ९६ हजार ३०६ रुपैयाँ बुझेका छन् । अधिकारीले तलबवापत ३० लाख १३ हजार ६४८ रुपैयाँ र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेका हुन् । अन्य वाणिज्य बैंकहरूका सीइओका तुलनामा यो रकम उल्लेख्य रूपमा कम हो । 

सिटिजन्स बैंक: गणेश पोखरेल   
सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलले एक वर्षको अवधिमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६–२०७७ मा तलब वापत ८४ लाख रुपैयाँ लिएका छन् भने ३० लाख रुपैयाँ भत्ता बुझेका छन् ।

अघिल्लो वर्ष बैंकले सीइओका लागि १ करोड ७९ लाख रुपैंया खर्चेको थियो । यो रकम तात्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र पोखरेलले संयुक्त रुपमा बुझेको रकम हो । 

सानिमा बैंकः भुवन दाहाल
 सानिमा बैंकका सीइओ भुवन दाहालले गत आर्थिक वर्ष १ करोड ४६ लाख १५ हजार रुपैयाँ मात्रै पाएका छन् । अघिल्लो वर्ष उनको यस्तो आम्दानी २ करोड ८ लाख ३९ हजार रुपैयाँ थियो । 

सेन्चुरी कमर्सियल बैंक: तुलसीराम गौतम 
सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गत आर्थिक वर्ष २०७६–७७ मा तलब भत्ता तथा अन्य सुविधावापत १ करोड ५४ लाख ५६ रुपैयाँ बुझेका छन् । उनले तलब र भत्ता मात्रै १ करोड २६ लाख रुपैयाँ प्राप्त गरेका भने दशैं खर्चबापत १० लाख ५० हजार रुपैयाँ पाएका हुन् । 

मेगा बैंकअनुपमा खुञ्जेली  
वाणिज्य बैंकहरुमध्ये एक मात्र महिला सीइओ अनुपमा खुञ्जेलीले वार्षिक १ करोड ७० लाख रुपैयाँ तलब सुविधा बुझेकी छिन् । उनले तलब मात्रै १ करोड २ लाख रुपैयाँ लिएकी छिन् ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार खुञ्जेलीले दशंैं भत्ता ८ लाख ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन् । त्यस्तै, बोनस तथा कल्याणकारी कोष वापत ५६ लाख ७९ हजार रुपैयाँ बुझेकी छिन् । इन्धन खर्चका लागि उनले ३ लाख २ हजार रुपैयाँ लिएकी छिन् ।  

नबिल बैंक: अनिल केशरी शाह
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले गत आर्थिक वर्षमा १ करोड ६२ लाख ६४ हजार रुपैयाँ बुझेका छन् ।  

एनएमबि बैंक : सुनील केसी
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले गत आर्थिक वर्ष २०७६–७७ मा तलब तथा परिश्रमिक वापत १ करोड ७५ लाख २८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

केसीले तलब वापत ५९ लाख ४ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै, भत्ता वापत ५२ लाख २४ हजार रुपैयाँ पाएका छन् । नियम अनुसार बोनस तथा वेलफेयर ५५ लाख ७६ हजार रुपैयाँ बुझेका छन् । 

प्रभु बैंक: अशोक शेरचन
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्ष २०७६–७७ मा ३ करोड ४२ लाख ३० हजार रुपैयाँ बुझेका छन् ।

शेरचनले तलब भत्तावापत २ करोड ५७ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै, नाफाबाट नियम अनुसार कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ प्राप्त गरेका छन् । शेरचनले दशैं तथा विदा वापत ३५ लाख ६८ हजार रुपैयाँ भत्ता बुझेका छन् । 

लक्ष्मी बैंकः विक्रम शाह 
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाहले गत आर्थिक वर्ष २०७६–७७ मा १ करोड ९ लाख ८० हजार रुपैयाँ बुझेका छन् । 

ग्लोबल आइएमई बैंकमहेशप्रसाद ढकाल तथा पर्शुराम कुँवर
 ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष व्यस्थापन नेतृत्व गरेका (सीइओ–कामु सीइओ) लाई कुल १ करोड २६ लाख ८६ हजार ७ सय पैयाँ तलव भत्ता भुक्तानी गरेको छ ।

यसबाहेक, कार्य सम्पादनका आधारमा बैंकले कामु सीइओलाई बोनस बापत २८ लाख २३ हजार ६१२ रुपैयाँ अतिरिक्त भुक्तानी गरेको छ । ग्लोबल आइएमई बैंक र साविकको जनता बैंक नेपाल मर्जपछि जनताका प्रमुख कार्यकारी अधिकृतलाई ग्लोबलले २०७६ मंसिर २० गते प्रमुखको जिम्मेवारी दिएको थियो ।

त्यसअघि कामु प्रमुख कार्यकारीका रुपमा महेश शर्मा ढकालले व्यवस्थापकीय नेतृत्व गरेका थिए । यो पैसा क्षेत्री र ढकालले बुझेका हुन् । बैंकले तलब वापत ९० लाख २७ हजार रुपैयाँ, भत्ता ११ लाख ४ हजार रुपैयाँ, सञ्चय कोष ९ लाख २ हजार, दशैं भत्ता ६ लाख र अन्य रकम १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो । 

हिमालयन बैंकअशोक राणा  
हिमालयन बैंकका सीइओ अशोक राणाले गत वर्ष १ करोड ७९ लाख ७७ हजार ३३९ रुपैयाँ बुझेका छन् । उनले तलब मात्रै ८७ लाख ५५ हजार १६ रुपैयाँ र भत्ता ७८ लाख ४ हजार ६६१ रुपैयाँ बुझेका छन् । टेलिफोन, मोबाइल खर्चबापत २ लाख १३ हजार ८४१ रुपैयाँ र विविध शीर्षकमा २२ लाख १८ हजार ८२४ रुपैयाँ लिएको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।  

कृषि विकास बैंकअनिलकुमार उपाध्याय  
कृषि विकास बैंकका सीइओ अनिलकुमार उपाध्यायले गत आर्थिक वर्षमा ३९ लाख १६ हजार रुपैयाँ बुझेका छन् । मासिक २ लाख ५० हजारका दरले तलब भत्ता बुझेका छन् ।

दशैं खर्चबापत थप २ लाख ५० हजार रुपैयाँ लिएका छन् । साथै, सञ्चालक समितिले उनलाई औषधि उपचारबापत ५० दिनको तलब थप दिएको छ भने मासिक टेलिफोन, मोबाइल शुल्कवापत २५ हजार पनि उपलब्ध गराउने गरेको छ ।

बैंकले उनलाई सञ्चय कोषवापत १ महिनाको तलब सुविधा दिएको छ । उनले तलब, दसैं भत्ता, औषधि उपचार खर्च र सञ्चय कोषवापत १ वर्षमा उक्त रकम बुझेका हुन् । यो अन्य वाणिज्य बैंकको तुलनामा कम हो ।  

नेपाल बंगलादेश बैंकज्ञानेन्द्रप्रसाद ढुंगाना  
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एक वर्षमा १ करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन् । 

नेपाल एसबिआई बैंकः अनुकुल भट्नागर  
नेपाल एसबीआई बैंकले प्रमुख कार्यकारीसहित भारतबाट आएका कर्मचारीलाई एक वर्षमा १ करोड ७४ लाख ५९ हजार १५३ रुपैयाँ खर्चिएको छ ।

यद्यपि, प्रमुख कार्यकारीसहित भारतबाट आएका कर्मचारीलाई स्टेट बैंक अफ इण्डियाले तलब दिन्छ । यो भुक्तानी घरभाडा, अन्य भत्ता तथा सुविधाबापत दिइएको हो । यो सुविधा अनुकुल भटनागरलगायतले बुझेका हुन् । अहिले प्रमुख कार्यकारीमा दीपककुमार दे छन् । भटनागर भारत फिर्ता भइसकेका छन् । 

प्राइम कमर्सियल बैंकनारायणदास मानन्धर  
प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले गत आर्थिक वर्षमा १ करोड ८५ लाख ५१ हजार रुपैयाँ बुझेका छन् । उनले तलबमात्रै ९ करोड ६९ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै, भत्ता ६४ लाख ६० हजार रुपैयाँ, दशैं भत्ता १४ लाख रुपैयाँ र सञ्चय कोष वापत ९६ लाख ९० हजार रुपैयाँ बुझेका छन् । 

सिद्धार्थ बैंक: शम्भुनाथ गौतम 
सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्षमा १ करोड ५५ लाख १७ हजार ५३७ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत उक्त रकम भुक्तानी गरेको हो ।  
(स्रोतः सम्बन्धित बैंकहरुले सार्वजनिक गरेका वार्षिक प्रतिवेदनकाे आधारमा तयार पारीउकाे फिचर रिपाेर्ट।)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment