जसपा नेतासँग दाहाल–नेपालको भेट

 १३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बिहीबार बिहान जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेट गरेको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गर्नुभएको हो । छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

छलफलमा सहभागी नेता महतोका अनुसार दाहाल–नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गर्नुभएको थियो । महतोका अनुसार जसपाका नेताहरुले दाहाल–नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको र उहाँहरुको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुन:स्थापनाको फैसला सुनाएसँगै प्रचण्ड–माधव समूहले बुधबार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।

नेकपा एकताबद्ध बनाउन दाहाललाई गौतमको सुझाव
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुन:स्थापनाको फैसला सुनाएसँगै नेकपा उपाध्यक्ष वामदेव गौतमले पनि राजनीतिक सक्रियता देखाउनुभएको छ ।

उहाँले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पार्टीलाई एकताबद्ध बनाउन सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्दै पार्टी विवाद निरुपण गर्न पनि अपिल गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment