३ हजार डाइनामाइटले ध्वस्त पारियो ट्रम्पको ३४ तले प्लाजा

०७ फागुन, एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्लाजा हज्जारौं डाइनामाइटको मद्दतले ढालिएको छ । अमेरिकाको अटलान्टिक शहरमा रहेको प्लाजा आफ्नो क्यासिनोका लागि चर्चित थियो । ३००० डाइनामाइटको मद्दतले ३४ तले यो भवनलाई ढालिएको दृश्य निकै रोचक छ ।

यो प्लाजा सन् १९८४ मा खोलिएको थियो र सन् २०१४ मा यो बन्द भएको थियो । थुप्रै आँधीका कारण यो भवनको बाहिरी हिस्सा जर्जर भएको थियो जसका कारण अघिल्लो वर्ष जूनमा नै शहरका मेयर मार्टी स्मलले यो भवनलाई ध्वस्त पार्न आदेश दिएका थिए । जब यो भवनलाई भत्काइँदै थियो तब त्यहाँ सयौं मानिसहरुको उपस्थिती थियो । यहाँबाट मानिसहरुले लाइभ स्ट्रिमिङ पनि गरिरहेका थिए ।

३४ तले यो भवन भत्काउन २० सेकेन्डभन्दा पनि कम समय लाग्यो । बुधबार बिहान ९ बजे आसपास एकपछि अर्को गर्दै थुप्रै बिस्फोट गरियो जसले भवनलाई पूर्ण रुपमा ध्वस्त पार्यो । अटलान्टिक शहरका मेयरका अनुसार भवन भत्काएपछि यसका भग्नावशेष नै ८ तले अग्लो छ र यो हटाउन जूनसम्मको समय लाग्नेछ ।

स्मरण रहोस्, ट्रम्प आफैं पनि हलिउड फिल्ममा देखिइसकेका छन् । उनको यो प्लाजा पनि एक चर्चित फिल्मको हिस्सा बनेको छ । ट्रम्प प्लाजा फिल्म ओशन ११ मा देखिएको थियो । यो फिल्ममा ब्राड पिट, जर्ज क्लूनी, जुलिया रोबर्टस्, म्याट डेमन र केसी एफ्लेकजस्ता कलाकार देखिएका थिए ।

यो प्लाजामा पप सुपरस्टार मेडोनादेखि रेसलर हल्क होगन, म्यूजिक लेजेन्ड किथ रिचर्ड्स र सुपरस्टार एक्टर ज्याक निकलसनजस्ता सेलिब्रिटी पुगिसकेका छन् ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment