इन्सपेक्टर पौडेलको सगरमाथा आरोहण सीमा अनुगमन पनि हो : आईजी अर्याल

१४ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक(इन्सपेक्टर) सुरज पौडेलको सगरमाथा आरोहणमात्रै नभएर सीमाको अनुगमन पनि रहेको सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले बताएका छन् ।

सगरमाथा आरोहण गरेर सशस्त्र हेडक्वाटर हल्चोक फर्केका पौडेललाई स्वागत गर्दै आईजी अर्यालले सीमाको अनुगमन समेत भएको बताए ।

इन्सपेक्टर पौडेललाई जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको स्मरण गर्दै आईजी अर्यालले भने, ‘यो सगरमाथा आरोहण मात्र होइन । सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनको लागि सीमा अनुगमन पनि हो ।’

आईजी अर्यालका साथै एआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई स्वागत गरेका थिए । सशस्त्र प्रहरीको इतिहासमा सगरमाथा आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सीधै प्रधान कार्यालयमा ल्याइएको थियो ।

सोही अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेललाई संगठनको तर्फबाट आईजी एपीएफ कमेन्डेसनद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा पौडेलले सगरमाथाको शिखरमा फहराएको संगठनको झन्डा पनि आईजी अर्याललाई हस्तान्तरण गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment