आइसिसी टी-२० विश्वकप क्रिकेट

नौ रंगशालामा ५५ खेल, तीन घण्टा १० मिनेटमा एउटा म्याच सक्नै पर्ने

११ जेठ, काठमाडौं । आइसिसी टी-२० विश्वकप प्रतियोगिता जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ । टी-२० विश्वकप पहिलोपटक अमेरिकामा पनि हुन लागेको हो । यसपटक पनि टी-२० विश्वकप पुरानै फम्र्याटमा खेलाइँदैछ । समूह चरण, सुपर-८ र त्यसपछि नकआउट गरी तीन चरणका खेल हुनेछन् । यसका लागि सबै २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

एक समूहमा पाँच टोली छन् । समूह चरणमा एक समूहका टोलीले एकअर्कासँग खेल्नेछन् । प्रत्येक समूहबाट दुई टोली सुपर-८ मा छनोट हुनेछन् । यीमध्ये चार टोली नकआउट राउण्डका लागि सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’मा क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘बी’मा अस्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड छन् । समूह ‘सी’मा अफगानिस्तान, न्युजिल्याण्ड, पपुवान्युगिनी, युगाण्डा, वेष्ट इण्डिज छन् । समूह ‘डी’मा बंगलादेश, नेपाल, नेदरल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका छन् । प्रतियोगिताको समूह चरणका खेलहरू जुन १ बाट सुरु भई जुन १८ सम्म खेलाइनेछ । सुपर आठका खेल १९ देखि २५ जुनसम्म हुनेछन् । सेमिफाइनल खेल जुन २७ गते र फाइनल खेल २९ गते हुनेछ । प्रतियोगितामा दुई देशका नौ रंगशालामा कुल ५५ खेल हुनेछन् । प्रतियोगिताको फाइनल खेल ऐतिहासिक रंगशाला बार्बाडोसको केन्सिङ्टन ओभलमा हुनेछ ।

पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने

प्रतियोगितामा पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिनेछ । यसको मतलब बलिङ टोलीले एक ओभर सकिएको ६० सेकेण्डभित्र दोस्रो ओभर सुरु गरिसक्नुपर्नेछ । आइसिसीले बनाएको नियमअनुसार असाधारण अवस्थामा बाहेक खेल तीन घण्टा १० मिनेटमा समाप्त हुनुपर्नेछ । यसको मतलब प्रत्येक इनिङ्सका लागि समय एक घण्टा २५ मिनेट र अन्तराल २० मिनेट हो । प्रत्येक इनिङ्सको पहिलो ६ ओभरमा पावर प्ले हुनेछ । प्रत्येक टोलीले दुई समीक्षा अर्थात् रिभ्युको मदका पाउनेछन् । खेल बराबरी भएमा सुपर ओभरबाट नतिजा तय हुनेछ । सुपर ओभर पनि टाई भएमा नतिजा तय गर्न सुपर ओभर फेरि खेलिनेछ । प्रतियोगितामा पनि वर्षा भएमा नतिजा प्राप्त गर्न डिएलएस विधि प्रयोग गरिनेछ ।

तर, डिएलएस लागू गर्न केही शर्तहरू छन् । समूह चरण र सुपर-८ का लागि दुवै टोलीले कम्तीमा पाँच ओभरको खेल खेलेपछि मात्रै डिएलएसमार्फत् निर्णय लिन सकिनेछ भने नकआउट खेलमा दुवै टोलीले कम्तीमा १० ओभरको खेल खेले मात्रै यसको प्रयोग गरिनेछ । पहिलो सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे राखिएको छ । तर, दोस्रो सेमिफाइनलका लागि २५० मिनेटमात्र अतिरिक्त समय दिइएको छ ।

अहिलेसम्म क-कसले जिते उपाधि ?
टी-२० विश्वकपको उपाधि अहिलेसम्म ६ टोलीले जितेका छन् । पहिलो टी-२० विश्वकपमा भारतले ऐतिहासिक जित दर्ता गरेको थियो । त्यतिबेला भारतले पाकिस्तानलाई फाइनलमा हराएको थियो । पाकिस्तानी टोली तीनपटक फाइनलमा पुगेर सन् २००९ मा प्रतियोगिता जितेको थियो । गत विश्वकपमा इंग्ल्याण्डले उपाधि जितेको थियो । यसअघि सन् २०१० मा पनि इंग्ल्याण्डले उपाधि जितेको थियो । वेष्ट इण्डिजले सन् २०१२ र २०१६ मा दुईपटक विश्वकप जितेको छ । सन् २०२१ मा अष्ट्रेलियाको टोलीले विश्वकप जितेको थियो । कोरोना भाइरसको महामारीको समयमा ग्यापबाहेक टी-२० विश्वकप नियमित रूपमा खेलिएको छ । आइसिसीले प्रतियोगिता हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरेको छ । अर्को टी-२० विश्वकप २०२६ मा आयोजना हुनेछ, जुन भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्नेछन् । सन् २०२८ मा हुने टी-२० विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्तरूपमा आयोजना गर्नेछन् ।

नेपालले कहिले कोसँग खेल्दैछ ?

जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले भने जुन ४ मा पहिलो खेल द नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालले अमेरिकाको डालासस्थित ग्राण्ड प्रिरे क्रिकेट रंगशालामा विश्वकपको पहिलो खेल खेल्नेछ । त्यसपछि फ्लोरिडामा जुन १२ मा दोस्रो खेल खेलेर टोली वेष्ट इण्डिज लाग्नेछ । वेष्ट इण्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बंगलादेशसँग लिगको अन्तिम खेल खेल्नेछ । नेपालको आगामी यात्रा यी चार खेलको नतिजाले तय गर्नेछ । टी-२० विश्वकपका खेलहरू वेष्ट इण्डिजका विभिन्न ६ र अमेरिकाका तीन रंगशालामा खेलाइनेछन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment