थाई एयरवेजद्वारा पुनः नेपालमा उडान सुरु

११ जेठ, काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा सेवा पुनः सुरु गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले बिहीबार औपचारिकरूपमा सेवा सुरु गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कोलकाता हुँदै काठमाडौंसम्मको उडानमार्फत् नेपालमा उडान सुरु गरेको थियो । नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीलाई पनि नेपाल ल्याउने आधा शताब्दी लामो यात्रा कोरोनाका कारण मार्च २०२२ मा रोकिएको थियो ।

थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

स्थानीय बजार अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस थाई एयरवेजका लागि साझेदार बनेको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाई एयरवेजले २०२३ डिसेम्बर १५ मा दोस्रो दैनिक उडान सुरु गरेको कम्पनीले जनाएको छ ।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भन्नुभयो, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रा लागि शौभाग्यको कुरा हो । यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ । हामीले सन् १९६८ मा नेपालका लागि पहिलोपटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान–प्रदान प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको छ । हामी यो महत्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’

सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका कार्यकारी अध्यक्ष र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रविचन्द्र सिंहले भन्नुभयो, ‘काठमाडौं र बैंककलाई उडानमार्फत् जोड्दै हाम्रो सेवा पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौँ । सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको छ । हाम्रो सेवाले दुई देशबीच उडान गर्ने यात्रुलाई सहज र रमाइलो यात्रा अनुभव प्रदान गर्नेछ ।’ हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment