देशको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा, ऋण लिएर ऋण भुक्तानी

१० जेठ, काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को वैशाखसम्म (१० महिना) मा देशको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुगेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप हुँदा २३ खर्ब ९७ अर्ब पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षको साउनमा २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेको थियो। यस्तै चैत महिनाको तुलनामा वैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको छ।

यस्तै १० महिनामा २ खर्ब ६४ अर्ब रुपैयाँ ऋण लिएर सरकारले साँवा भुक्तानीमा १ खर्ब ६६ अर्ब खर्च गरेको छ। अब देशको तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब र वाह्य ऋण १२ खर्ब १२ अर्ब रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

यसअनुसार नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४२ प्रतिशत नाघेको छ। कार्यालयका अनुसार वैशाखसम्म जीडीपीको ४२.०२ प्रतिशत सार्वजनिक ऋण पुगेको छ। यसमध्ये वाह्य ऋण जीडीपीको २१.२६ प्रतिशत र आन्तरिक ऋण जीडीपीको २०.७६ प्रतिशत पुगेको छ।

साढे २ खर्ब ऋण लिएर सावाँ ब्याज भुक्तानी
यस्तै सरकारले सार्वजनि ऋणको सावाँ– ब्याज भुक्तानी गर्न ऋण लिँदै आएको कार्यालयको तथ्यांकले देखाउँछ। सरकारले चालू वर्षको १० महिनामा साढे २ खर्ब सार्वजनिक ऋण लिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार वैशाखसम्म २ खर्ब ६४ अर्ब सार्वजनिक ऋण परिचालन भएको छ। जुन वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत हो।

यस वर्ष सरकारले आन्तरिक र वाह्य गरी ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ। तर, प्राप्ति २ खर्ब ६४ अर्ब छ। अबको दुई महिनामा लक्ष्यअनुसार प्राप्तिका लागि १ खर्ब ८८ अर्ब बाँकी छ।

यस्तै वर्ष सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा साढे २ खर्ब रुपैयाँ खर्च गरेको छ। कार्यालयका अनुसार वैशाखसम्म २ खर्ब ३३ अर्ब सार्वजनिक ऋणको सावाँ– ब्याज भुक्तानीमा खर्च भएको हो। चालू आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा ३ खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ। तर कूल विनियोजनको ७०.५७ प्रतिशत १० महिनामा खर्च भएको आकडा कार्यालयको छ।

वैदेशिक अनुदान ५.५२ प्रतिशतमात्र संकलन
चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड बराबर बजेट ल्याएको थियो भने राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँमात्र संकलन हुने अनुमान गरेको थियो। ५ खर्ब २ अर्ब रुपैयाँ भने वैदेशिक सहायत र आन्तरिक ऋणबाट व्यवस्थापन गर्ने लक्ष्य राखेको थियो। जसमध्ये २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखिएको थियोभने २ खर्ब ६५ अर्ब ६९ करोड रुपैयाँ भने सरकारले वैदेशिक सहायता (अनुदान र ऋण) उठाउने लक्ष्य राखेको थियो। तर सो लक्ष पुरा हुन नसक्दा सार्वजनिक ऋण व्यवस्थापनमा समेत समस्या देखिएको छ।

यस्तै लक्ष्यअनुसार राजस्व संकलन तथा वैदेशिक सहायत प्राप्त गर्न नसकेको कार्यालयको तथ्यांकले देखाउँछ। सरकारले चालू वर्ष वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ प्राप्त हुने अनुमान थियो। वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड लिने लक्ष्य तय गरिएको थियो। तर, वैशाखसम्म सरकारले सार्वजनिक ऋण लक्ष्यको ३४.६१ प्रतिशत र वैदेशिक अनुदान ५.५२ प्रतिशतमात्र संकलन भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्ष वैशाख मसान्तसम्म सरकारले ७३ अर्ब ६३ करोड वैदेशिक ऋण सहायता परिचालन गरेको छ। उता, वैदेशिक अनुदान भने मात्र २ अर्ब ७५ करोड परिचालन भएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment