युनिलिभर नेपालको नाफा ३०% बढ्यो, ९ महीनाको नाफा साढे ४८ करोड माथि

२८ वैशाख, काठमाडाैं । बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को ९ महीना अवधिमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३०.४६ प्रतिशतले धेरै हो ।

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आय बढेर खर्च घट्दा नाफा बढेको हो । गर्मी लागेसँगै उपभोक्ताको मागमा बढ्दै जाँदा सौन्दर्य सामाग्रीको दैनिक उपभोग बढेपछि कम्पनीको ब्यापार बढेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको कुल आय २ अर्ब २ करोड ३० लाखबाट २.२६% बढेर २ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको बिक्री आम्दानी पनि १.५२% प्रतिशतले बढेर १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँमा पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड ५७ लाख आम्दानी गरेको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ७२ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीको चालु आवको यसै अवधिमा अवधिसम्म २८ प्रतिशत बढेर ७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ९ करोड २१ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग १४.९० प्रतिशतले बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ गत आवको यसै अवधिमा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७०३ रुपैयाँ ७३ पैसा छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको ईपीएस ५३९रुपैयाँ ४१ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ४१२५ रुपैयाँबाट बढेर ४७२५ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपाली सेयर बजारमा सुचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूलय भएको कम्पनी हो । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको अन्तिम मूल्य ४० हजार ४५० रुपैयाँ रहेको छ भने अधिकतम सेयर मूल्य ४२ हजार ३०० रुपैयाँ पुगेको थियो ।

साथै चालु आवको तेस्रो त्रैमासमा कम्पनीका अधिकांश शीर्षको आम्दानी बढेको छ भने खर्चमा कमी आएको छ । समीक्षा अवधिमा कम्पनीले मुद्दती निक्षेपमा १४९ प्रतिशतले लगानी बढाएर १ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ भने नगद मौज्दातमा ८७ करोड १४ रुपैयाँ राखेको छ । नगद मौज्दात ११.०९ प्रतिशतले घटाएको हो । यस्तै कम्पनीको कुल खर्च पनि ६.११ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा सुधारिएको छ । गत आवको सोही अवधिमा कम्पनीको खर्च १ अर्ब ५४ करोड ८४ हजार रुपैयाँ थियो ।

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ । लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । कम्पनीमा हिन्दुस्थान युनिलिभर मुम्बईको ७ लाख ३६ हजार ५६० कित्ता, सिवक्रिम होल्डिङ्ग प्राली नेपालको ४६ हजार ३५ कित्ता र सर्वसाधारणमा १ लाख ३८ हजार १०५ कित्ता सेयर रहेको छ ।

नेपाली सेयर बजारमा सबैभन्दा महङ्गो सेयर मूल्य रहेको युनिलिभर नेपालले हालसम्मकै धेरै लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई हालसम्मकै उच्च दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रतिसेयर १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment