सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन

२८ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

२४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो ।

भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ ।

गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ ।

देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर रहेका छन् ।

देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ ।

उक्त क्षेत्रमा गार्हस्थ ग्राहकका अतिरिक्त ठूलो सङ्ख्यामा सिँचाइ र होटलका ग्राहकहरू रहेका छन् ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो ।

गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख संगिता कार्कीले जानकारी दिइन् ।

आयोजना प्रमुख कार्कीले सबस्टेसन तयार भएपनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उल्लेख गरिन् ।

कार्कीका अनुसार कोभिड–१९ को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन) मा पर्ने जंगल हुँदै प्रसारण लाइन लैजानु गर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भएको हो ।

संक्षित वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी लाइन निर्माण गत फागुनदेखि निर्माण सुरु गरिएको थियो । तर, लाइन निर्माणमा केही स्थानीयबाट अवरोध सुरु भएपछि निर्माण रोकिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment