सम्झनामा २०७२ वैशाख १२ : आज गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

१२ बैशाख, काठमाडौँ । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।

आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन् ।

भूकम्पको केन्द्रविन्दु बारपाक काठमाडौँबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।

यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।

भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२ः३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा पराकम्पन गएको थियो । भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः वैशाख १३ गते सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव नौ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपाल्चोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्यो ।

विसं २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको गृह मन्त्रालयले जनाएको छ । त्यो भूकम्पबाट आठ हजार नौ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयकाे तथ्याङ्क छ । मृत्यु भएका मध्ये ९८ दशमलव सात प्रतिशत अतिप्रभावित जिल्लाका नागरिकहरू छन् ।

छपन्न प्रतिशत महिला परेका छन् । एक सय ९५ जना बेपत्ता रहे । उक्त भूकम्पमा २२ हजार तीन सय दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । कुल आठ लाख बढी निजी आवास, आठ हजार जति विद्यालय, करिब नौ सय २० ऐतिहासिक सम्पदासहित अस्पताल, सरकारी घर र भवन र निजी घर भत्किँदा करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको तथ्याङ्क छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment