सेमीकन्डक्टरको माग बढेसँगै सामसुङको नाफा ९०० प्रतिशतले बढ्यो

२६ चैत, काठमाडाैं । विश्वको सबैभन्दा ठूलो मेमोरी चीप उत्पादक कम्पनी–सामसुङको नाफामा आकर्षक वृद्धि भएको छ ।

विश्वका ठूला कम्पनी कृतिम बौद्धिकता (एआई)को विकासमा लागेसँगै एआई निर्माणमा आवश्यक पर्ने चीप तथा सेमीकन्डक्टरको माग बढ्दा सन् २०२४ को जनवरी–मार्च महिनामा कम्पनीले ४ अर्ब ९० करोड अमेरिकी डलर नाफा गरेको हो । सन् २०२३ को सोही अवधिको तुलनामा कम्पनीको नाफा ९३१ प्रतिशतले बढेको सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ ।

विश्लेषकहरुले जनवरी देखि मार्च त्रैमासमा कम्पनीले ५.७ ट्रिलियन वोन (दक्षिण कोरियाली मुद्रा) नाफा गर्ने प्रक्षेपण गरेका थिए । तर कम्पनीले विश्लेषकको प्रक्षेपणलाई पछि पार्दै ६.६ ट्रिलियन वोन नाफा गरेको हो ।

सन् २०२० देखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विश्वभर सेमीकन्डक्टर चीपको अभाव देखिएको थियो । तथापि सन् २०२२ मा अधिकांश कम्पनीहरुले आफै लगानी गरी चीप उत्पादन सुरु गरेपछि चीपको उपलब्धता बढेको थियो भने मूल्यमा ह्रास समेत आएको थियो । तर सन् २०२२ को नोभेम्बर महिनामा ओपनएआईले च्याटजिपीटि नामक एआई बोट लन्च गरेपछि विश्वका ठूला कम्पनी एआई विकास गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जसकारण एआई निर्माणका लागि आवश्यक पर्ने चीपको माग बढ्दा मूल्य समेत बढेको छ ।

गत वर्षको तुलनामा सन् २०२४ मा चीपको मूल्य २० प्रतिशतले बढेको छ । जसकारण स्मार्टफोन, टेलिभिजन, मेमोरी चीप तथा सेमीकन्डक्टर उत्पादक सामसुङको नाफा बढेको छ । यस्तै सन् २०२४ को जनवरीमा सामसुङले एस२४ मोडलका स्मार्टफोन लन्च गरेको थियो । एस२४ को माग विश्वव्यापी माग बढ्दै जाँदा त्यसले समेत जनवरी–मार्च त्रैमासको नाफा बढाउन सफल भएको विश्वास गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment