चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

१३ चैत, काठमाडाैं । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन । बेइजिङमा सोमबार आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँगको भेटमा उनले त्यस्तो आह्वान गरेका हुन।

उनले यस वर्ष चीनले राखेको करिब पाँच प्रतिशत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिको लक्ष्य वैश्विक अर्थतन्त्रका लागि सकारात्मक खबर भएको बताए। यस वर्षको प्रारम्भदेखि चीनको अर्थतन्त्र लगातार सुधार भइरहेको, राम्रो सुरुआत हासिल गरिरहेको र वर्षको आर्थिक तथा सामाजिक लक्ष्यहरू पूरा गर्न ठोस आधार तयार गरिरहेको उनको भनाइ थियो ।

दीर्घकालीनरूपमा चिनियाँ अर्थतन्त्रको संस्थान, बजार, उद्योग, मानव संसाधन र नवप्रवर्तनमा फाइदा छन् भन्दै प्रधानमन्त्री लीले दीर्घकालीन बलियो विकासको आधारभूत सिद्धान्त परिवर्तन नभएको र नहुने बताए।

उनले चीनसँग दिगो अर्थतन्त्र र सुदृढ विकास कायम राख्ने आत्मविश्वास तथा क्षमता रहेको बताए । मुलुकलाई दृढताका साथ उच्चस्तरको खुलापनलाई निरन्तरता दिने र सबै पक्षसँग पारस्परिक लाभ र जित–जितको नतिजालाई राम्रोसँग प्रवर्द्धन गर्ने उनले बताए।

चीन र आइएमएफले सुदृढ सहयोगात्मक सम्बन्ध कायम गरेको भन्दै प्रधानमन्त्री लीले चीनले वैश्विक शासनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नका लागि आइएमएफको समर्थन गर्ने बताए । साथै उनले आइएमएसँगको सहयोगलाई अझ प्रगाढ बनाउन, विश्वव्यापी ऋण व्यवस्थापन प्रणालीमा सुधार जारी राख्न र विश्व आर्थिक सुधारमा योगदान दिन तयार रहेको बताए।

“आइएमएफले आर्थिक भूूमण्डलीकरण र स्वतन्त्र व्यापारलाई कायम राख्न, विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलालाई स्थिर र निर्बाध राख्न तथा खुला विश्व अर्थतन्त्रलाई प्रवर्द्धन गर्न सकारात्मक भूमिका निर्वाह गर्नेछ भन्ने हामीलाई आशा छ”, उनले भने।

आइएमएफ प्रमुख जर्जिएभाले आइएमएफलाई दिएको बलियो समर्थनका लागि चीनलाई धन्यवाद दिए । उनले गत वर्ष चीनको आर्थिक वृद्धि अपेक्षाभन्दा बढी भएको र हरित अर्थतन्त्र, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा विकासको राम्रो गति कायम गरेको बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment