विकास पुगेका गाउँमा पनि छैनन् युवा

११ चैत, काठमाडौँ । चिटिक्क परेका ढुङ्गे घर । फराकिला आँगन । गाउँको बीचैमा सुविधासम्पन्न मोटरबाटो । गाउँकै मुनि पायक परेको धानखेत । माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय । स्वास्थ्यचौकी र घरघरमा पुगेको छ इन्टरनेट । झट्ट हेर्दा लोभलाग्दो देखिने धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ ।

डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवजावत गर्न गाउँदेखि दुई÷तीन दिन पैदलयात्रा गर्नुपथ्र्यो । एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपथ्र्यो ।

अहिले त्यस्तो छैन । विकासका पूर्वाधार गाउँमा पुगेका छन् । तर गाउँमा युवा छैनन् । अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन् । “डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पनानै गरेका थिएनौँ,” धौलागिरि गाउँपालिका–३ मुदीका ६९ वर्षीय टेकबहादुर भण्डारीले भन्नुभयो, “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ । अहिले विकास त आयो तर यो मर्ने बेलामा हरियो काँक्रो जस्तो मात्र भयो ।”

गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ । गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ । अक्करे भीर फोडेर खनेका सडकमा मोटर गुडेका छन् । तर गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन । गएको दुई वर्षमा मुना गाउँका ३१ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बुढाले बताउनुभयो । गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको तर, युवा नहुँदा गाउँ शून्य भएको उहाँको अनुभव छ ।“सुविधाका हिसाबले गाउँ र सहरमा खासै फरक छैन । डेढदशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ ।

सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन्”, वडासदस्य बुढाले भन्नुभयो, “तर त्यो सुविधाबाट लाभान्वित हुनुपर्ने वर्ग गाउँमा छैन ।”यस्तो अवस्था मुना गाउँको मात्रै होइन । जिल्लाका ६ वटै स्थानीय तहमा उस्तै छ । एक लाख १४ हजार जनसङख्या रहेको म्याग्दीमा साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा बाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ ।

विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवन शैलीमा परिवर्तन देखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । विशेष गरी पश्चिम म्याग्दीमा धेरै युवा पलायन भएका छन् । मालिका गाउँपालिका–१ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरु अवैध बाटो भएर अमेरिका पुगेका छन् । सहरमा झैँ गाउँमा विकास पुगेपनि गाउँमै रोजगारीको अभावले गर्दा युवाविहीन भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment