श्रीलङ्कालाई ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिन आइएमएफको आग्रह

०९ चैत, काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार श्रीलङ्काले आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट पुनःप्राप्तिलाई निरन्तरता दिन प्रमुख द्विपक्षीय ऋणदाता चीन र अन्य ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिनुपर्ने बताएको छ ।

मुलुकमा खाद्यान्न, इन्धन र औषधिजस्ता आवश्यक वस्तु आयात गर्न विदेशी मुद्रा समाप्त भएकाले सन् २०२२ अप्रिलमा श्रीलङ्काले आफ्नो ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेको थिएन । महिनौँसम्म चलेको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले भ्रष्टाचार र खराब व्यवस्थापनको आरोप लागेपछि राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

आइएमएफले चार वर्षको दुई अर्ब ९० करोड डलरको जमानत राशिमा ३३ करोड ७० लाख डलरको तेस्रो किस्ता रिलिजका लागि मार्ग प्रशस्त गर्न कोलम्बोसँग कर्मचारीस्तरीय सम्झौतामा पुगेको बताएको छ । आइएमएफले ‘महत्त्वपूर्ण’ अर्को कदम भनेको ऋणदाताहरूसँगको सम्झौताहरूलाई अन्तिम रूप दिनु रहेको बताएको छ ।

श्रीलङ्काको कूल विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा बेइजिङको रहेको छ । चीनले डिसेम्बरमा श्रीलङ्काको ऋण पुनःसंरचनाका लागि ‘सैद्धान्तिकरूपमा’ सहमति व्यक्त गरेको थियो तर कोलम्बो र बेइजिङले विवरण दिएका छैनन् र दुवैले अहिलेसम्म सम्झौतालाई अन्तिम रूप दिन सकेका छैनन् ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिक्री तथा व्यक्तिगत आयकर बढाएका छन्,ऊर्जा अनुदानमा कटौती गरेका छन् । आइएमएफ उद्धार सम्झौताअनुरूप सुधार र मितव्ययिता उपायहरूलाई अगाडि बढाएका छन् ।

“आर्थिक स्थितिमा विस्तारै सुधार भइरहेको छ, सुधारको गतिलाई कायमै राख्नु महत्त्वपूर्ण छ”, आइएमएफले विज्ञप्तिमा भनेको छ । श्रीलङ्काले सन् २०२२ को पहिलो त्रैमासिकदेखि सङ्कुचन भएपछि गत वर्षको तेस्रो र चौथो त्रैमासिकमा वार्षिक आधारमा एक दशमलव छ प्रतिशत र चार दशमलव पाँच प्रतिशतको सामान्य वृद्धि हासिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विक्रमासिङ्घेले बुधबार राति जुनपछि अर्थतन्त्र पूर्णरूपमा ठिक हुने अपेक्षा गरिएको घोषणा गरे । उनले श्रीलङ्काली मुद्रा (रुपैयाँ) अमेरिकी डलरको तुलनामा २८० रुपैयाँमा बलियो हुने अपेक्षा गरिएको बताए । सङ्कटको समयमा यो ३६० रुपैयाँ थियो ।

आफूले सन् २०२८ सम्ममा विदेशी ऋण भुक्तानीमा रोक लगाउने अपेक्षा गरेको उनले यसै महिनाको प्रारम्भमा राष्ट्रपति विक्रमासिङ्घेले बताएका थिए । श्रीलङ्काको वार्षिक ऋण भुक्तानी आधिकारिकरूपमा छ अर्ब डलर भएको अनुमान गरिएको छ । केन्द्रीय बैंकका आँकडाअनुसार सन् २०२३ सेप्टेम्बरको अन्त्यमा मुलुकको विदेशी ऋण ५२ अर्ब ६५ करोड डलर थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment