प्री-मनसुन वर्षा, प्रदूषण र डढेलो नियन्त्रणमा राहत

0८ चैत, काठमाडाैँ । नेपालमा हिउँदमा पानी नपरेर निकै सुख्खा महसुस गरिए तापनि बुधवारबाट मध्य र पूर्वी भेगमा सुरु भएको प्री-मनसुन वर्षाले केही राहत दिएको मौसम अधिकारीहरूले बताएका छन्।

आउँदा तीन दिनसम्म ती क्षेत्रमा हल्का तथा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको मौसम अधिकारीहरूले बताएका छन्।

पश्चिमी र स्थानीय वायुको मिश्रित प्रभावका कारण बिहीवार र शुक्रवारसम्मै मधेस र कोशी प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

तर बुधवारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा बादल लागिसकेको छैन। लुम्बिनी प्रदेशको समेत पश्चिमा भागमा मौसम सफा रहेको बताइएको छ।

विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “तर शुक्रवारसम्मै नै देशभर घाम देखिने सम्भावना कम रहेको छ।”

प्रभाव

नेपाल पृथ्वीको जुन भागमा पर्छ, त्यहाँको माथिल्लो भागमा जेटस्ट्रिम भनिने वायुको वेग सधैँ पश्चिमबाट पूर्वतर्फ गइरहेको छ र यतिखेर उक्त वायु प्रणालीले नेपाली आकाशमा न्यूनचापीय क्षेत्र बनाएको छ।

त्यसकै कारण कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा हिमपातसमेत भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्री-मनसुनी वर्षा प्रणालीका समयमा मेघ गर्जनसहित चट्याङ पर्ने अवस्था रहने भन्दै अधिकारीहरूले सजग रहन आग्रह गरेका छन्।

मनसुनअघिको यस प्रणालीमा मध्यान्नपछि र साँझपख हावाहुरी चल्ने सम्भावना हुने बताइन्छ।

मङ्गलवार पाँचथरमा एक जनाको चट्याङका कारण मृत्यु भएको बताइएको छ।

सामान्यत: मार्चदेखि मे महिनाबीचको अवस्थामा प्री-मनसुनी अवस्था रहने गर्छ।

यतिखेरको मौसमी प्रणालीमा हुरीको सम्भावना भने नरहेको मौसम अधिकारीहरू बताउँछन्।

“नेपालमाथिको उपल्लो वायुमण्डलमा सधैँ पश्चिमी वायु चलिरहेको अवस्था रहन्छ, जुन मनसुनका बेला थप केही माथि जान्छ,” वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्।

“प्री-मनसुन हिउँद र मनसुनबीचको सङ्क्रमणकालीन अवधि रहेको भए पनि पश्चिमी वायु समेत जोडिने कुनै-कुनै प्रणालीमा अहिलेजस्तै वर्षाको सम्भावना रहन्छ।”

बुधवार मधेस प्रदेशको एक मापन केन्द्रमा ३० मिलिमिटरसम्म वर्षा भएकोले त्यहाँ मध्यम वर्षा देखा परेको छ। सामान्यतया ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ।

तर धेरैजसो प्री-मनसुनी वर्षा तत्कालको स्थानीय वायुको प्रभावका कारण स-साना स्थानमा छिटो छिटो देखा पर्छन्।

“त्यस्तो बेला आधा घण्टामै प्रणाली बनेर पानी पर्ने, एक-दुई घण्टामै त्यो सकिएर घाम लागिहाल्नेजस्तो मौसमी गतिविधि देखिन्छ।”

राहत

हालसाले देशका केही क्षेत्रमा डढेलो लागेको थियो

सुख्खा हिउँदलगत्तै देखा परेको प्रणाली भएकाले छिटपुट र हल्का वर्षा भए पनि त्यसको देशव्यापी प्रभावका कारण प्रदूषण, डढेलो र गर्मी नियन्त्रणमा यसले केही राहत दिने मौसमसम्बन्धी अधिकारीहरू बताउँछन्।

“बादल धेरैतिर लागे पनि वर्षा भने केही भेगमा केन्द्रित हुने देखिन्छ,” वरिष्ठ मौसमविद् मानन्धर भन्छिन्।

हिउँदमा वर्षा गराउने पश्चिमी वायु प्रणाली यस पटक ‘पूर्वतर्फ सर्दै नसरेको पाइएको’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्यालले हालै बीबीसीलाई बताएका थिए।

त्यसकै कारण त्यस भेगमा त्यहाँ डढेलोको प्रकोप देखा पर्ने अर्यालजस्ता विज्ञहरूले चेतावनी दिएका थिए।

सुक्खा हिउँदबीच प्री-मनसुनको वर्षा समेत ढिलो भइदिएमा डढेलोजन्य प्रकोपको जोखिम उच्च हुनसक्ने बताइएका बेला चैतको सुरुमै देशभर एक सय भन्दा धेरै डढेलोको घटना देखा परेको थियो।

चैत लागेसँगै आगलागी र डढेलोका घटनामा मानवीय क्षति समेत देखा परेको थियो।

यस पटक हिउँदमा नेपालमा सरदर वर्षाको तुलनामा झण्डै २१ प्रतिशत मात्र वर्षा भएपछि मौसम अधिकारीहरूले ‘निकै कम’ बताउँदै त्यसलाई ‘चरम सुक्खा’ अवस्था भन्न सकिने प्रतिक्रिया दिएका थिए।

वर्षभर हुने वर्षाको करिब ४ प्रतिशत हिस्सा हिउँदमा हुने ठानिए तापनि जाडो याममा ०.३ प्रतिशत मात्र पानी परेको थियो।

प्री-मनसुनमा भने सामान्य अवस्था वर्षभरको वर्षाको १२ प्रतिशत पानी पर्ने ठानिन्छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment