एमजीको इभी ग्राहकका लागि इभी चार्जिङ एप

२९ फागुन, काठमाडौं । एमजीको नेपालस्थित आधिकारिक बिक्रेता एवं आयातकर्ता पारामाउण्ट मोटर्स प्रालिले पारामाउण्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ । एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्करूपमा उपलब्ध पारामाउण्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकले सजिलैसँग आफ्नो विवरण भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् ।

चार्जिङ शुल्क खल्ती एपमार्फत् भुक्तानी हुने भएकाले ग्राहकको अनिवार्य खल्ती एप हुनुपर्नेछ । पारामाउण्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाइभ अपडेटका साथै चार्जिङ भुक्तानीमा सहजीकरण गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार एपले हालका लागि ३० किलोवाट चार्जरमात्र सपोर्ट गर्ने भएकाले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ चार्जिङ स्टेसन रहेका छन् ।

साथै एपअन्तर्गतको आरएफ आइडी कार्डमार्फत् ग्राहकले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् । आरएफ आइडी कार्ड लिन भ्याटसहित पाँच सय रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । उक्त शुल्क चार्जिङ मेसिन र स्टेसन मर्मतमा खर्च गरिने पनि कम्पनीले जनाएको छ । नेपालमा हाल एमजीका २१ शोरूम सञ्चालनमा रहेका छन् । पारामाउण्ट मोटर्सले नेपाल विद्युत् प्राधिकरणले तोकेको दरमा प्रतियुनिट दरमा थप २० प्रतिशत शुल्क लागू गर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment