पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी?

२६ फागुन, काठमाडौं । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। जरदारीले ४११ मत पाए भने अचकजाईले ११८ मत मात्रै पाए।

पीएमएल–एन र पीपीपी पार्टीले मिलेर जरदारीलाई उम्मेदवार बनाएका थिए। जरदारी सन् २००८ मा पनि राष्ट्रपति पनि बनेका थिए। इमरान समर्थक एसआईसी पार्टीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा पाकिस्तानको राष्ट्रिय सभाका केही सदस्यले इमरान खान जिन्दावादको नारा लगाएका थिए। जरदारीले आफ्नो पार्टी पीपीपीसहित नवाजको पार्टी पीएमएल–एन र ३ अन्य पार्टी एमक्यूएम–पी, बीएपी, आईपीपीको समर्थन पाएका थिए।

मौलाना फजल–उर–रहमानको पार्टीले आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसद्सँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन।

पाकिस्तानी मिडिया डनका अनुसार नयाँ राष्ट्रपतिले आइतबार सपथ लिनेछन्। यसअघि शुक्रबार राष्ट्रपति आरिफ अल्वीलाई गार्ड अफ अनरसहित पदबाट बिदाइ गरिएको थियो।

को हुन् जरदारी ?

आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन्। उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन्। जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए।

बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी थिइन्। २००७ मा भुट्टोको हत्या पछि, पीएमएल–एनसँग गठबन्धनमा चुनाव लडे र जनरल परवेज मुशर्रफलाई सत्ताबाट हटायो। यसपछि जरदारी ६ सेप्टेम्बर २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment