काठमाडौंमा आधुनिक सडक बत्ती: महानगरको लगानीमा १ हजार २६ वटा स्मार्ट सडक बत्तीहरू जडान

२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न ठाउँमा महानगरको लगानीमा १ हजार २६ वटा स्मार्ट सडक बत्तीहरू जडान भएको छ ।

गत वर्ष नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा जडान गर्ने गरि सम्झौता भएको थियो । सोही सम्झौताअनुसार महानगरपालिकाको जिम्मेवारीअन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्नुपर्ने क्षेत्रहरूमा १ हजार २६ वटा सडक बत्तीहरू जडान भएका हुन् ।

महानगरकाअनुसार स्मार्ट सडक बत्ती जडान भएका क्षेत्रहरूमा महाराजगञ्ज-लैनचौर-जमलमा ३४० मध्ये ३१८, प्रहरी तालिम केन्द्र-बालुवाटार-नक्साल-माइतीघर क्षेत्रमा ३७४ मध्ये ३६३ वटा, कमलपोखरी-गौशाला क्षेत्रमा १९० मध्ये १८१ वटा, त्रिपुरेश्वर-थापाथली-माइतीघर क्षेत्रमा ७६ मध्ये ७६ वटा र चाबहिल-बौद्ध क्षेत्रमा ९२ मध्ये ८८ वटा जडान भएका छन् । यी क्षेत्रहरूमा कुल १ हजार ७२ वटा बत्ती जडान हुनेमा १ हजार २६ वटा बत्तीहरू जडान भएका छन् ।

काठमाडौं महानगरपालिकाभित्र रहेका सडकमा आधुनिक स्मार्ट सडक बत्ती जडान गर्ने कार्यका लागि काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबिच सहकार्य भएको हो ।

गत वर्ष माघ २४ गते तीन निकायहरूबिच जिटुजि सम्झौता भएको थियो । सम्झौताअनुसार महानगरपालिकाले ६० प्रतिशत खर्च बेहोर्ने छ भने प्राधिकरणले ४० प्रतिशत खर्च बेहोर्ने छ । यो आयोजनाका लागि कुल लागत ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ अनुमान गरिएको छ ।

काठमाडौं महानगरपालिकाका इलेकट्रिकल इन्जिनियर पदमराज पौडेलकाअनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्तीहरू जडान भएका छन् । ‘ठेक्का प्राधिकरणले लगाएको हो । हामीले यसमा सहजLकरण गरिरहेका छौँ । उहाँहरूको पोल सार्नुपर्ने के के समस्या आइरहेका कारण काम सुरु नभएको भन्नु भएको छ । अब केही दिनमा हुन्छ भन्नु भएको छ’ उनले भने ।

सम्झौताअनुसार महानगरपालिकाको लगानीमा महाराजगञ्जदेखि लैनचौर हुँदै जमलसम्म, प्रहरी तालिम केन्द्रदेखि बालुवाटार हुँदै नक्सालबाट माइतीघरसम्म, कमलपोखरीदेखि गौशालासम्म, त्रिपुरेश्वरदेखि थापाथली हुँदै माइतीघरसम्म र चाबहिलदेखि बौद्ध जोरपाटीको रुटसम्मका क्षेत्रमा सडक बत्ती राख्ने गरि छुट्टाइएको छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको लगानीमा त्रिपुरेश्वरबाट सहिद गेटसम्म, तीनकुनेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, माइतीघरबाट तीनकुनेसम्म, टुँडिखेलको वरिपरिको क्षेत्रमा, सुन्धाराबाट जमल हुँदै रानीपोखरीदेखि दरबारमार्गबाट भद्रकालीसम्म र गौशालादेखि एयरपोर्टसम्मको क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गर्नुपर्ने गरि सम्झौता भएको छ ।

सडक बत्तीको जडानको जिम्मेवारी भने प्राधिकरणमार्फत नै ठेक्का आह्वान गरेर गत वैशाख २५ गते सौर्यदय उर्जा, अर्घाखाँचीलाई दिइएको छ । उक्त कम्पनीले नै यी ठाउँहरूमा स्मार्ट सडक बत्ती जडान गरिरहेको छ । आयोजनाको ठेक्का आगामी वैशाख २४ गतेसम्मका लागि लगाइएको छ ।

हाल महानगरको लगानीमा स्मार्ट सडक बत्तीहरू जडान भइरहेका छन् । कुल सडक बत्तीमध्येमा अब केही मात्र जडान हुन बाँकी रहेको छ । सँगै यी क्षेत्रहरूमा २७० वटा फाउन्डेसन हुनेमा २१२ वटा फाउन्डेसनको काम सकिएको छ । त्यस्तै, २७० वटा पोल राखिनेमा १७७ वटा राखिएका छन् ।

यी क्षेत्रमा रहेका सोलर तथा सडक बत्तीको पोल आर्महरु गरि ४२१ वटा सोलर प्यानललाई हटाइएको छ । बिके ट्रेडरले लगाएको सोलरहरु ८१ वटा, नेपाल विद्युत् प्राधिकरणको सोलर ६४ वटा, काठमाडौं महानगरपालिकाको सोलर १५९ वटा र महानगरपालिकाको स्ट्रिट पोल आर्म ११७ गरि कुल ४२१ वटा हटाइएको छ । महानगरकाअनुसार स्मार्ट सडक बत्ती जडान गर्न तथा पोललाई पुनः प्रयोगमा ल्याउन नसक्ने अवस्था भएका कारण यी संरचनाहरूलाई हटाइएको हो ।

तर, महानगरपालिकाको लगानीमा सडक बत्ती जडान भइरहँदा प्राधिकरणको लगानीमा जडान हुनुपर्ने सडक बत्तीहरूको काम भने अघि बढ्न सकेको छैन । करिब १२ करोडमध्येको ४० प्रतिशत प्राधिकरणको लगानीबाट जडान हुने १ हजार १७ सडक बत्तीहरूमा कुनै पनि काम हुन सकेको छैन ।

प्राधिकरणको भागमा त्रिपुरेश्वरदेखि सहिद गेटसम्म ५१ वटा, तीनकुनेबाट एयरपोर्टसम्म १४७ वटा, माइतीघरबाट तीनकुनेसम्म ५०८ वटा, टुँडिखेल वरिपरि ९५ वटा, सुन्धाराबाट जमल हुँदै रानीपोखरीदेखि दरबारमार्गबाट भद्रकालीसम्म १४१ वटा र गौशालाबाट एयरपोर्टसम्म ७५ वटा गरि कुल १ हजार १७ वटा सडक बत्तीहरू जडान हुनुपर्नेछ ।

फाउन्डेसनका ९२ संरचनामध्ये प्राधिकरणको लगानीमा हुनुपर्ने ३६ वटा मात्र बनेका छन् । त्यस्तै, अध्ययनमा देखिएका ९२ वटा पोल राख्नुपर्नेमा ३६ वटा मात्रै पोलहरू राखिएका छन् । प्राधिकरणले आफूहरुकोतर्फबाट जडान हुनुपर्ने सडक बत्ती जडान नहुनुको कारण यी क्षेत्रमा पुराना सौर्यबत्तीका लागि गाडिएको पोलहरू रहेको ती पोलहरूलाई पुनः प्रयोगमा ल्याउनका लागि योजना स्वीकृत नभएका कारण ढिलाइ भएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment