नेप्सेका प्रमुख कार्यकारीले एक वर्षमा साढे २५ लाख तलब भत्ता बुझे 

२१ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले आर्थिक वर्षको २०७९/०८० मा मात्रै साढे २५ लाख रुपैयाँ बुझेका छन् । कार्कीले तलब भत्ता सहित उक्त रकम बुझेका हुन ।

नेपाल सरकारले नियुक्त गरेका कार्कीले वार्षिक तलब मात्रै १८ लाख रुपैयाँ बुझछन । गत आर्थिक वर्षमा कार्कीले १८ लाख तलब, ३ लाख ९२ हजार भत्ता, चाडपर्व खर्च एक लाख ६९ हजार रुपैयाँ बुझेका छन् । उनले सञ्चयकोष बापत एक लाख ८० हजार रुपैयाँ पनि पाएको नेप्सेले जनाएको छ ।

साथै कार्कीले सञ्चालक समितिको बैठकमा बसेबापत हालसम्म ५ लाख ६९ हजार रुपैयाँ बुझेका छन् । नेप्सेको प्रमुख कार्यकारी अधिकृतले तलब भत्ता संगै चालक सहितको सवारीसाधनको पनि सुविधा पाउने नेप्सेले जनाएको छ । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको ७ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा पनि रहेको छ ।

गत आर्थिक वर्षमा नेप्सेले बहालवाला तथा अवकासप्राप्त भएका प्रमुख कार्यकारी अधिकृतको लागि ३१ लाख १० हजार रुपैयाँ खर्चेको छ । नेप्सेको यो खर्च अघिल्लो आवको तुलनामा थोरै हो । अघिल्लो आवमा नेप्सेले बहालवाला तथा अवकासप्राप्त प्रमुख कार्यकारी अधिकृतहरूका लागि ३१ लाख ४२ हजार रुपैयाँ खर्चेको थियो ।

गत आर्थिक वर्षमा नेप्सेले ३० लाख ४४ हजार रुपैयाँ सञ्चालकलाई सुविधा स्वरुप प्रदान गरेको छ । सो अवधिमा नेप्सेले ७ लाख ७७ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता खर्च गरेको छ । त्यसैगरी विभिन्न समिति तथा समितिहरूको बैठक भत्तामा १० लाख ६८ हजार र अन्य खर्च ११ लाख ९९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा नेप्सेको खुद नाफा ८१ करोड ८६ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा नेप्सेको खुद नाफा एक अर्ब १७ करोड ८१ लाख ४४ हजार रुपैयाँ थियो । धितोपत्र बजार घटेसँगै सेयर कारोबारमा कमी आएपछि गत आवको नेप्सेको नाफा घटेको हो । गत आवको नाफाबाट नेप्सेले सेयरधनीलाई ६४ प्रतिशत नगद लाभांश दिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment