अन्नपूर्ण केबलकारले आईपीओ ल्याउने, एजीएमबाट प्रस्ताव पारित गर्दै

१८ माघ, काठमाडाैं । अन्नपूर्ण केबलकार लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले फागुन ११ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले प्रबन्धपत्र बमोजिम सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै सो सम्बन्धि अख्तियारी सञ्चालक समितिलाई दिने भएको हो । कम्पनीले कुल ३१ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । आईपीओ बिक्रीका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरी नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागिसकेको छ ।

सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

पोखरा महानगरपालिका–१८ को सेदीबगरमा निर्माण भएको २ हजार ४०० मिटर लामो अन्नपूर्ण केबलकारको लगानी दुई अर्ब रुपैयाँ बराबर रहेको छ । सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड संक्रमणकालीन समय र विभिन्न संरचनाका कारण लागत बढेको हो । स्थानीयको २५ प्रतिशत सेयर रहेको केबलकारमा पोखरा र काठमाडौंका प्रतिष्ठित व्यवसायीको लगानी छ । पोखराको युवा व्यवसायी कालु गुरुङ अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष छन् ।

सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सक्नेछन् ।

केबलकार अस्ट्रियाको डोपलमेयर कम्पनीद्वारा निर्मित र जापानको नेपोन केबलले इन्स्टल गरेको हो। चार वर्षमा निर्माण सम्पन्न भएको केबलकार २०७८ फागुन ६ मा सफ्ट लन्च गरिएको केवलकारको चैतदेखि व्यवसाययिक रुपमा सञ्चालन सुरु भएो थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment