‘परीक्षा दिन बुटवल हिँडेको थिएँ, बसको ढोकाबाट हामफालेर ज्यान जोगाएँ’

२८ पुस, नेपालगंज । बाँकेको नेपालगंज उपमहानगरपालिका– १२ कोरियनपुरका २४ वर्षीय आशुतोष गौतम बुटवल जान शुक्रबार भे १ ख ३९१२ नम्बरको रात्रीबस नेपालगंजबाट चढेका थिए।

शनिबार बुटवलमा राष्ट्रिय बाणिज्य बैंकको परीक्षा थियो। शुक्रबार प्रशासन तर्फको सकिएपछि शनिबार लगततर्फको परीक्षा थियो ।

उनी नेपालगञ्जको मञ्जुश्री फाइनान्समा काम गर्छन्।

उनको एउटा अनौठो बानी रहेछ; बसको सिटमा नबस्ने। ‘मेरो अचम्मको बानी छ,’ उनले भने, ‘काठमााडौं जाँदा पनि कहिल्यै सिटमा बस्दिनँ, उभिएरै यात्रा गर्छु।’

नेपालगंजबाट छुटेको बसले झन्डै डेढ सय किलोमिटर यात्रा पार गरेर राति करिब १० बजे भालुवाङ पुग्यो।

बस सल्यानको त्रिबेणी गाउँपालिका– ४ का २८ बर्षीय लालबहादुर नेपालीले हाँकेका थिए।

बसका सहचालक बाँकेको बैजापुर गाउँपालिका– ३ का २१ बर्षीय शंकर थारुसँग चिनापर्ची थियो। गौतमका अनुसार चिनजान भएकाले उनी सहचालकसँग ढोकानजिक उभिएर यात्रा गर्दै थिए।

भालुवाङमा ट्राफिक चेकपोइन्ट नजिक पुगेपनि बस रोकिएन तर त्यसको हाइड्रोलिक ढोका भने खुल्यो। चेकपोस्ट राप्ती नदीको मुखमै छ। त्यहाँ चेकिङ भइरहेको भएपनि चालकले रोक्दै नरोकी हुँइक्याए।

त्यतिबेला बस ७०/८० को स्पिडमा रहेको गौतमको अनुमान छ। बस चेकजाँचका लागि त्यहाँ रहेका ट्राफिक प्रहरीले सिटी पनि फुकेका रहेछन्। तर चालकले रोक्दै नरोकी बस दौडाए।

केही पर पुगेपछि बस दायाँ बायाँ गर्दै अगाडि बढ्न थालेपछि मुटुमा ढ्यांग्रो बज्न थालेको गौतम सुनाउँछन् । ‘निमेषभरमै डिभाइडरमा ठोक्किएर ठूलो आवाज आयो,’ उनले भने।

बस दायाँबाया हल्लिन थालेपछि आफू हामफालेको उनले बताए। ‘ढोका खुल्लै थियो, अब दुर्घटना नै हुने हो भन्ने लागिसकेको थियो। बरू हातखुट्टा भाँचिए भाँचियोस् ज्यान त जोगिएला भनेर ढोकाबाट पुलमा हामफालें,’ उनले भने।

पुलमाथि हामफालेको निमेषमै ठूलो आवाजका साथ बस राप्ती नदीमा बजारिएको उनले बताए। ‘जसोतसो उठेर हेरेँ, दिमाग शून्य भयो। के गर्ने भन्ने नै सोँच्न सकिनँ,’ उनले भने।

एकैछिनमा बसमा रहेका अन्य यात्रुको चिच्याहट सुनेपछि उनी होसमा आए। तल बसबाट मानिसहरू ‘बचाउ, बचाउ’ भनिरहेका थिए। गौतम पनि ‘बस खस्यो’ भन्दै कराउन थाले।

चेकपोइन्टमै रहेका प्रहरीहरू पनि दौडिएर आउँदै रहेछन्। एकैछिनमा ट्राफिक, प्रहरी र भालुवाङबासी दुर्घटनास्थलमा जम्मा भएर घाइतेहरुको उद्धारमा खटिए। गौतम सामान्य घाइते भएका थिए। त्यहाँ उनीहरूसँगै घाइतेको उद्धार गर्न जुटे।

केहीबेर अघि ढोकामा आफूसँगै उभिइरहेको सहचालकको उद्धारपछि उनलाई लिएर उपचार गर्न उनी भालुवाङको क्लिनिकमा गए।

हाम फाल्दा पुलमाथि एक बल्ड्याङ खाएपनि आफू सकुशल रहेको गौतम बताउँछन्। ‘दायाँ हातमा सामान्य चोट लागेको थियो, एक्स-रे गर्दा खासै चोट नदेखिएपछि चिकित्सकले पेनकिलर दिनुभएको थियो,’ उनले भने।

शंकरको पनि बाँकेमा उपचार जारी छ। दुर्घटनामा अन्य १२ जनाको मृत्यु भएको छ भने उनीबाहेक २२ जना घाइते छन्।

सिधा पुलमा कसरी भयो बस दुर्घटना?

शुक्रबार राति सवा १० बजेतिर राप्ती नदी पुलबाट बस खस्दा करिब सय मिटर पश्चिमको इलाका प्रहरी कार्यालय भालुवाङमै थिए त्यहाँका प्रमुख इन्स्पेक्टर उज्वलबहादुर सिंह ।

बस पुलबाट खसेको हल्ला खल्लापछि उनी तत्कालै घटनास्थल पुगेका थिए। बस चेक पोइन्टदेखि झन्डै ३० मिटर पूर्व चालककै साइड दायाँबाट राप्ती नदीमा खसेको थियो ।

बसको अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा थियो ।

‘चालक तर्फको भाग पानीमा परेको हुँदा चालकलाई धेरै चोट नलागेको हुनु पर्छ,’ उनले भने ‘ बसको पछाडिको भाग बगरमा बजारिएको हुँदा पछाडि बसेकाहरुलाई बढी चोटपटक लागेको देखिन्छ।’

पाँचवटा शव पानीबाटै निकालेको इन्स्पेक्टर सिंह बताउँछन्।

दुर्घटनाका घाइतेहरूको उद्धार कार्य सकेर बिहान ३ बजे कार्यालय फर्किएको उनले बताए ।

‘ मैले चेक प्वाइन्टमा बसेका डिउटीका ट्राफिक प्रहरीलाई बुझ्दा चालकले बस नरोकेर तीब्र गतिमा अगाडि बढाएको भन्ने नै छ,’ सिंहले भने ‘ तर, चालकले प्राविधिक कारण बस दुर्घटनामा परेको भनेर हामीलाई वयान गरेका थिए ।’

प्राविधिक कारणले हो वा मानविय त्रुटीको कारणले बस दुर्घटनामा परेको हो भन्ने कुरा थप अध्यनपछि मात्रै खुल्ने उनले बताए । अहिले मुचुल्का तयार पारी त्यसको प्रतिवेदन जिल्लामा बुझाउने तयारी भइरहेको उनले बताए।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दुर्घटना नै नहुने ठाउँमा कसरी बस दुर्घटना भयो भन्नेबारेमा अध्ययन भइरहेको बताए ।

‘त्यो दुर्घटना हुने ठाँउ नै हैन,’ उनले भने ‘त्यस्तो सिधा पुलबाट बस कसरी नदीमा खस्यो त्यो अनुसन्धान भइरहेको छ।’

दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको दाङका डिएसपी जनक मल्लले जानकारी दिए।

कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३१ वर्षीय कुलबहादुर गोसाई,बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ वर्षीया लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का २१ वर्षीय शंकर थारु, भारतको बहराईज मटेराका २८ वर्षीय राहुल कुमार यादव र २० वर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका – ५ का ४५ वर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का २४ वर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद छन्।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका २२ वर्षीय साजिव थारु , बाँकेका १८ बर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय निफख खान, डोल्पाका ३५ वर्षीया धनकली बढा, बाँकेका २० वर्षीय कोरिन्जन कोरी र बाँकेका २० वर्षीय अवाज नाउ छन्। उनीहरूको पूरा ठेगाना खुलिनसककेको डिएसपी मल्लले जानकारी दिए।

घाइतेमध्ये ७ जनालाई बुटवल पठाइएको छ। बुटल पठाइएका घाइतेहरूमा काठमाडौंको चाविहलका ४४ वर्षीय सुवास सार्की, रौतहटका २६ वर्षीय संजय कार्की, जुम्लाका १९ वर्षीय विशाल बोहोरा, काठमाडौंकै ११ वर्षीया आज्ञा पाण्डे, ३८ वर्षीया मञ्जु शर्मा, २३ वर्षीय सन्जु बढवाल र ४५ वर्षीय राधा पाण्डे छन्।

जुम्लाको हिमा गाउँपालिका-४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए।

चालक सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको परिचय खुलेको छ।

मृतकहरूमा बाँके नेपालगंजका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ वर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ वर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन्।

त्यस्तै नाम थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष, ५२ वर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको डिएसपी मल्लले जानकारी दिए।

सेताेपाटी



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment