नागरिक उड्डयन प्राधिकरणले नियमविपरीत तारा एयरलाई दियो लुक्ला उडान अनुमति

२० मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफैंले स्वीकृत गरेको एरोनटिकल सूचना प्रकाशन(एआईपी)मा उल्लेख गरेको भीएफआर उडान सम्बन्धी नियम उल्लंघन गर्दै तारा एयरलाई सूर्योदय हुनुभन्दा अगाडि लुक्ला उडान गर्न सक्ने गरी उडान तालिका स्वीकृत गरेको छ ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफैंले बनाएको नियम उल्लंघन गर्दै तारा एयरको काठमाडौं लुक्ला उडान तालिका स्वीकृत गरेको पाइएको छ ।

आँखाले हरेर हुने उडान तथा अवतरण अर्थात् भिजुअल फ्लाइट रुल (भीएफआर) विधिबाट हुने उडान र अवतरण सूर्योदय अघि तथा सूर्यास्तपछि रोक लगाउने गरी एरोनटिकल सूचना प्रकाशन(एआईपी)जारी गरेको प्राधिकरणले तारा एयर र सीता एयर उडान तालिका भने उक्त नियम विपरित हुने गरी स्वीकृत गरेको भेटिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर १७ गते तारा एयरको उडान तालिका स्वीकृत गर्दा आफैंले बनाएको एआईपीमा भएको व्यवस्था उल्लंघन गरेको हो ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले स्वीकृत गरेको तारा एयर र सीता एयरको उडान तालिकामा भीएफआर उडान सम्बन्धी नियमको उल्लंघन गरिएको छ ।

प्राधिकरणले प्रकाशित गरेको एआईपीमा ५ डिग्रीभन्दा बढीको कोणमा सूर्योदय भयो भने विमानस्थल खुलेको मानिने र सूर्यको किरण ५ डिग्रीभन्दा कम भयो भने सूर्यास्त भएको मानिने उल्लेख छ ।

प्राधिकरणले सोमबार (मंसिर १८ गते) देखि ६ बजे र ६ बजेर ५ मिनेटमा तारा एयरलाई काठमाडौं लुक्ला उडान गर्न दिने गरी उडान तालिका स्वीकृत गरेको छ । यस्तै, सीता एयरलाई ६ बजेर ३० मिनेटमा उडान गर्न दिने गरी तालिका स्वीकृत गरिएको छ।

जबकी यो डिसेम्बर २ देखि ६ तारिखसम्म काठमाडौंमा युटिसी ०:५२ (नेपाली समय ६ बजेट ३७ मिनेट) सूर्योदय हुने प्राधिकरणको एआईपीमा उल्लेख छ ।

प्राधिकरणले प्रकाशित गरेको एआईपीमा डिसेम्बर ६ देखि १० सम्म युटीसी ०:५५ (नेपाली सयम ६ बजेर ४० मिनेटमा) सूर्योदय हुन्छ । डिसेम्बर १० देखि १४ सम्ममा सूर्योदय हुने समय ६ बजेर ४३ मिनेट तोकिएको छ । यस्तै, डिसेम्बर ३१ मा सूर्योदय हुने समय ६ बजेट ५४ मिनेट (युटिसी १:०९) निर्धारण गरिएको छ ।

प्रविधिमा आधारित उडान अर्थात् इन्ट्रुमेन्ट फ्लाइट रुल (आईएफआर) विधिबाट हुने उडानमा सूर्योदय र सूर्यास्तले कुनै फरक नपर्ने भए पनि लुक्ला विमानस्थलमा आँखाले हेरेर हुने उडान अर्थात् भीएफआर विधिबाट उडान र अवतरण हुने भएकाले काठमाडौं विमानस्थलमा सूर्योदय हुनुभन्दा अघि विमान उडान गर्न दिँदा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

सूर्यास्त हुनै लाग्दा विमान अवतरण हुँदैछ भने एटीसीले केही समय थप दिन सक्ने भए पनि सूर्योदय हुनुभन्दा अघि नै उडान तालिका स्वीकृत गर्नु गलत भएको एक पूर्ववरिष्ठ एटीसी बताउँछन् ।

‘सेफ्टीको विषयमा जानकारी नभएको व्यक्ति नेतृत्वमा पुगेकाले यस्तो त्रुटी हुनु सामान्य भएको छ,’ ती एटीसी भन्छन्,‘प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सेफ्टीमा यस्तै त्रुटी गरिरहेकाले नै युरोपियन कमिसनले उडान सुरक्षा चासोबाट नहटाएको हो ।’

प्राधिकरणका एक पूर्वमहानिर्देशक पाइलटलाई आखाँले बाहिर हेरर उडान गर्न सहज हुने गरी एआईपीमा सूर्योदय र सूर्यास्त सम्बन्धी समय प्रकाशित हुने बताउँछन् ।

‘आईएफआर र भीएफआर विधिबाट उडान र अवतरण गर्न मिल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्न मिल्ने भएकाले सूर्योदयभन्दा अघि वा पछि काठमाडौंबाट उडान भर्दा समस्या हुँदैन । उपकरणले पाइलटलाई सहयोग गर्छ ,’ प्राधिकरणका ती पूर्वमहानिर्देशकले भने,‘तर, लुक्ला विमानस्थलमा आखाँले हेरेर मात्रै उडान र अवतरण हुने भएकाले सूर्योदय हुनुभन्दा अघि लुक्ला विमान पुग्ने गरी उडान तालिका स्वीकृत गर्न नियम विपरित हो ।’

काठमाडौंबाट लुक्लाको उडान अवधि ३५ मिनेट हुन्छ । काठमाडौंबाट ६ बजे उड्ने विमान लुक्ला ६ बजेर ३५ मिनेटमा पुग्ने र सूर्योदय त्यसपछि मात्रै हुन्छ ।

प्राधिकरणले २०७९ असार १७ गते आँखाले हेरेर गर्ने उडान सूर्योदयअघि र सूर्यास्तपछि गर्न नमिल्ने एआईपी संशोधन गरेको थियो । नियममा सबै विमानस्थल सूर्यास्तपछि अर्थात् लास्ट ल्यान्डिङ भीएफआर कटेपछि बन्द हुने र उडान–अवतरण गर्न नमिल्ने व्यवस्था छ ।

प्राधिकरणले प्रकाशित गरेको एआईपीमा भीएफआर अर्थात् आँखाले हेरर गरिरहेको उडान आईएफआर अर्थात् उपकरणका आधारमा गरिने उडानमा परिवर्तन हुनसक्ने सम्भावना भएमा पहाडी र हिमाली क्षेत्रमा सूर्योदयभन्दा अघि र सूर्यास्तपछि १० मिनेट र तराईका विमानस्थलमा सुर्याेदयभन्दा अघि र सुर्यास्तपछि २० मिनेट समय थप गर्न सक्ने अधिकार दिएको छ ।

सूर्यास्तअघि वा सूर्योदय हुने समयसम्म भीएफआर उडानबाट आईएफआर उडानमा जोडिने मिनिमम इनरुट अल्टिच्युट (एमईए) मा विमान पुग्ने निश्चित हुँदा मात्रै आँखाले हेरेर गर्ने उडानमा समय दिन सकिने कानूनी व्यवस्था छ ।

महेन्द्रनगर, धनगढी, टिकापुर, नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, राजविराज, विराटनगर र चन्द्रगढी विमानस्थलमा २० मिनेटसम्म समय थप गर्न सकिने भए पनि अन्य विमानस्थलबाट भीएफआर उडान गर्दा १० मिनेटभन्दा बढी समय थप गर्न मिल्दैन ।

यसअघि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा पोखरा विमानस्थल उद्घाटनको दिन समेत सूर्यास्तसम्बन्धी नियम उल्लंघन गर्दै ५ वटा उडान भएको थियो ।

प्राधिकरणका महानिर्देशक अधिकारीको निर्देशनमा पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरुले सूर्यास्तपछि पोखरा विमानस्थलबाट ५ वटा विमानलाई काठमाडौं आउन अनुमति दिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक महानिर्देशक भीएफआर उडानमा नियमित रुपमा नियम उल्लंघन हुन सामान्य नभएको बताउँछन् ।

‘जोखिम हुने समयमा उडान गर्नु हुँदैन भन्ने हिसाबले एआईपीमा सूर्योदय हुने र सूर्यास्त हुने समय तोकिएको हुन्छ,’ ती पूर्वमहानिर्देशकले भने,‘सूर्योदय हुनुभन्दा अगाडि उज्यालो भइसकेको थियो, त्यसैले हामीले उडान अनुमति दियौं भन्न मिल्दैन । एआईपीमा उल्लेख भएको नियम नियामक निकायले मान्नै पर्छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment