कर बक्यौता १ खर्ब १३ अर्ब, मुद्दा मामिलामा ५४ सय करदाता

०९ मंसिर, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्ममा १ खर्ब १३ अर्ब ७ करोड ५८ लाख रुपैयाँबराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।

बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार २ लाख ७० हजार ३८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल ६५ अर्ब ३५ करोड ६७ लाख २२ हजार ७ सय रहेको कर बक्यौता रकम एक वर्षमै ४७ अर्ब ७१ करोड ९१ लाख ४० हजार थपिएको छ ।

त्यस्तै, विभिन्न कर कार्यालयबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकनमा गएका करदाताको संख्या करिब साढे ५ हजार देखिएको छ । गत असार मसान्तसम्म ५ हजार ४४३ करदाता मुद्दा मामिलामा गएका छन् ।

प्रशासकीय पुनरावलोकनमा गएको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ४५ अर्ब ७७ करोड ८९ लाख रुपैयाँबराबर छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम १ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँबराबर थियो ।

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी देखिएका छन् । विभागको प्रतिवेदनअनुसार १ लाख ३६ हजार ८२२ करदाताबाट ५९ अर्ब ४० करोड ८४ लाख ८६ हजार रुपैयाँबराबर आयकर बक्यौता देखिएको छ ।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १ लाख २९ हजार ४८५ करदाताबाट ५१ अर्ब १२ करोड ६० लाख भ्याट असुली हुन बाँकी छ ।

त्यस्तै अन्तः शुल्कतर्फ १ हजार ५ सय ५ करदाताबाट १ अर्ब ६१ करोड ५६ लाख ५७ हजार रुपैयाँबराबर राजस्व असुली हुन सकेको छैन । अन्यतर्फ २ हजार ५७१ करदाताबाट ९२ करोड ५७ लाख १० हजारबराबर कर उठेको छैन ।

प्रशासकीय पुनरावलोकनलगायत न्यायिक निरुपणमा गएका करदाताको संख्या हेर्दा आयकरतर्फ सबैभन्दा धेरै २ हजार ८०८ करदाता अर्थात् १ खर्ब २७ अर्ब ६९ करोड ४५ लाख ४९ हजार रुपैयाँबराबर कर रकम देखिन्छ ।

त्यस्तै, भ्याटतर्फ १४ अर्ब ६४ करोड ११ लाख १० हजारबराबर कर रकम रहेका २ हजार ३१८ करदाता मुद्दा मामिलामा गएका छन् । अन्तःशुल्कतर्फ १६४ करदाताको ३ अर्ब १३ करोड ७५ लाख ६८ हजारबराबर कर रकम न्यायिक अपिलका लागि गएको छ ।

त्यस्तै, गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयमा ७६ अर्ब १ करोड ४२ लाखबराबर बेरुजु देखिएको छ । यसरी सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको संख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ ।

आन्तरिक राजस्व विभागमार्फत गत आव २०७९/८० मा ६ खर्ब २६ अर्ब ६१ करोड कर असुली गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोड बराबरमात्रै उठेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment