काठमाडौँ र झापाका दुई दृश्य : दुर्गा प्रसाईंको गुनासो, राप्रपाको उत्साह !

०९ मंसिर, काठमाडौँ । गत बिहीबारदेखि मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । उनको आन्दोलनलाई केही राजावादीहरूको साथ रहेको भनिए पनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रूपमा साथ दिएको छैन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् ।

आन्दोलनको पहिलो दिन बिहीबार करिब ९ हजार समर्थकलाई काठमाडौँमा उतारेर आन्दोलन थालेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको ऋण मिनाहाका साथै राजतन्त्र पुनर्स्थापनाको एजेण्डा पनि अघि सारेका थिए । जसअनुसार बिहीबार बल्खुमा भएको आन्दोलनमा राजतन्त्रको पक्षमा नारा मात्र घन्किएन शुक्रबारसम्म आइपुग्दा तीनकुनेमा आन्दोलनका लागि तयारी गरेका कैयन राजावादी संगठनका कार्यकर्ता गिरफ्तारीमा परे ।

प्रसाईंको आन्दोलनमा राजवादीहरू नै पक्राउ पर्दासम्म पूर्वराजा चुइँक्क नबोल्नुले उनको आन्दोलनप्रति पूर्वराजाको दृष्टिकोणबारे चासो राख्न थालिएको छ । आफूले राजतन्त्र पुनर्स्थापनाको एजेण्डासमेत उठाएकाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष समर्थन गरिदिनुपर्ने प्रसाईंले सार्वजनिक रूपमा बताउँदै आएका छन् । बिहीबारकै प्रदर्शनपछि साँझ आयोजित पत्रकार सम्मेलनका क्रममा प्रसाईंले सके पूर्वराजा आन्दोलनमा समर्थन जनाउन आउनुपर्ने र त्यो पनि नसके समर्थनमा पत्रमात्रै भए पनि दिनुपर्ने धारणा राखेका थिए ।

तर, आन्दोलनको तेस्रो दिनसम्म आइपुग्दा प्रसाईंको मागअनुसार पूर्वराजाले न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् न त पत्र पठाएर कुनै समर्थन नै । बरु शाह काठमाडौँमा प्रसाईंले आन्दोलन गरिरहेकै बेला झापा पुगेर अर्को कार्यक्रममा सहभागी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सहयोगमा भएको भनिएको झापाको कार्यक्रममा पूर्वराजा सहभागी भएका हुन् । बिर्तामोडको उक्त कार्यक्रममा पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका थिए भने राप्रपाका अन्य केन्द्रीय नेताका साथै हजारौँ राजावादीहरूको उपस्थिति रहेको थियो ।

सो क्रममा पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी भए भने सर्वसाधारणसँग भलाकुसारी पनि गरेका थिए ।

पूर्वराजा बिर्तामोडको कार्यक्रममा सहभागी हुने भए पनि थापासहित कोशी प्रदेशका विभिन्न गाउँबाट राजावादीहरूलाई उतारिएको थियो । सो क्रममा राजावादीहरूले विभिन्न ठाउँबाट र्‍याली निकाल्दै राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्नुका साथै काठमाडौँमा दुर्गा प्रसाईंले गर्दै आएको आन्दोलन भन्दा भव्य देखाउने प्रयास गरेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यक्रमलाई भव्य बनाउनका लागि अध्यक्ष लिङ्देन डेढ साता अघिदेखि पूर्वी नेपालमा सक्रिय रहेका थिए । लिङ्देनको गृहजिल्लासमेत रहेको झापामा योजनाअनुरूप भव्य कार्यक्रम भएको श्रेष्ठको भनाइ छ ।

पूर्वराजालाई स्वागत सडकमा स्वागत गर्दादेखि कार्यक्रमसम्मको अवधिमा राजावादीले ‘राजा आउ देश बचाऊ, राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै वर्तमान व्यवस्थाको विरोध गरेका थिए । राजावादीहरू पूर्वराजाले वर्तमान व्यवस्था र जारी आन्दोलनबारे झापामा केही बोल्ने अपेक्षा गरेपनि त्यहाँ समेत उनी मौन बसिदिए । कार्यक्रमको आतिथ्य र सालिक अनावरण गर्नुबाहेक उनी प्रतिक्रियाविहीन भएका हुन् ।



मल्टिमिडिया ग्यालरी

businessdigitalDigital NewspaperdigitalkhabarDurga PrasaielonmuskFacebookGanendra ShahGaneshInternationaljhapakhabarMountainnepal governmentPokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterxYoutube
Comments (0)
Add Comment