सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्रमा झिलीमिली

०२ मंसिर, काठमाडौँ । पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्षित दीपावली पनि यस क्षेत्रमा थपिएको छ ।

वाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षकरुपमा सजावट गर्ने गरी तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ । छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाउने गरिएको हो । प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गर्न लागिएको छ । जहाँ आइतबार बेलुकी अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यस वर्ष विगतमा भन्दा बढी छठ घाटको निर्माण गर्न लागिएको समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए । विगतमा करिब ५०० छठ घाट निर्माण गरिएकामा यस वर्ष ५५० भन्दा बढी बनाउने तयारी गरिएको छ । एउटा छठ घाट एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठ पूजा समितिका सदस्य नवलकिशोर यादवले बताए ।

यहाँ करिब ५५० वर्तालु, तिनका परिवार एवं अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । २० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समुदाय पनि छठ पर्व मनाउने गरेका छन् ।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउँछिन् । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गरेकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजा आराधना गरी पर्व मनाउने गरेकी छिन् । आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाई आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उनले बताइन् । नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गर्न लागिएको छ । माटाको मूर्तिमा आइतबार र सोमबार पूजा आराधना गरी सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै वाग्मती नदीमै सेलाइने समितिका सचिव राजकुमार पोदारले बताए ।

छठ पूजा स्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भीड लाग्ने गर्छ । छठ पूजा स्थल वरपर व्यापार व्यवसाय गर्नेको भीड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा गत वर्षदेखि नै माइकिङ गर्न सुरु गरेको छ ।

कमलपोखरीमा तयारी तीव्र

कमलपोखरीमा पनि सजावट गरी छठ घाट निर्माणलाई तीव्रता दिइएको छ । कमलपोखरीमा १७५ जना वर्तालुले छठ पूजा गर्न घाट निर्माण गर्ने तयारी भएको छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए । यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिने भएको छ ।

चार दिने छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिइन्छ । यसका लागि नीराहार व्रत बसेका वर्तालुले आइतबार रातभर छठ पूजा स्थलमा जाग्राम बसेर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गरेको सिराहाबाट पर्व मनाउन आएका रणेन्द्र यादव बताउँछन् । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व समापन हुन्छ ।

पहिलो दिन गरियो नहाय खाय

चार दिने छठ पर्वका पहिलो दिन शुक्रबार वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् । यसलाई छठ वर्तालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका वर्तालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको समितिका सदस्य यादव बताउँछन् ।

छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ आदिको बढी प्रयोग गरिन्छ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्यदान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ । यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अघ्र्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ ।

छठ पूजा समितिलाई सहयोग

छठ पूजा समितिलाई पशुपति क्षेत्र विकास कोषले रु तीन लाख सहयोग गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका वडा नं. ८ ले दुई लाख ५० हजार पर्वको तयारी गर्न दिएको अध्यक्ष आशामान सँगतले जानकारी दिए । फूलकुमारी ट्रष्टले ५० हजार दिएको छ । समितिले विसं २०६० देखि गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती नदी किनारका दायाँबायाँ छठ घाट निर्माण गरेर पर्व मनाउँदै आएको छ । २०४८ सालदेखि पशुपतिको आर्यघाटपारि हाल आरती गर्नेस्थलमा छठ मनाउने गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessChatChhatdigitalDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshInternationalkhabarMountainnepal governmentPokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterxYoutube
Comments (0)
Add Comment