चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँड हुने

१५ कार्तिक, काठमाडाैं । चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँड गरिने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार सोमबार प्रि—अलोटमेन्ट सम्पन्न भएको कम्पनीको आइपीओ कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे बाँडफाँड गर्न लागिएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा कुल आवेदकको ७ प्रतिशत अर्थात ८५ हजार ९३० जना आवेदकले मात्र आईपीओ हात पार्नेछन् । यसअनुसार कम्पनीको आईपीओ पाउन भाग्यकै भरपर्नेपर्ने देखिएको छ । कुल आवेदकको ९३ प्रतिशत आवेदकको हात खाली हुनेछ ।

यस सार्वजनिक निष्कासनमा मागभन्दा १५.३६ गुणा बढी अर्थात १२ लाख १२ हजार ६४५ वटा आवेदन परेको छ । गोलाप्रथाबाट ८५ हजार ९३० जनाले सेयर हात पार्दा बाँकी ११ लाख २६ हजार ७१५ जनाको भने हात खाली हुनेछ ।

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । जसमा १ करोड ३१ लाख ९९ हजार २४० कित्ता खरिदको माग गर्दै आवेदन परेको छ ।

यस अघि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँड भएको कम्पनीले जनाएको छ। त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले भोजपुर जिल्लास्थित चिरख्वा खेलाको पानी प्रयोग गरी ४.७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं १,२ र ३ मा जलविद्युत उत्पादन केन्द्र रहेको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० साल फागुन १ गतेसम्म बाहल रहनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment