दशैंमा नवमीको दिन के गरिन्छ?

०५ कार्तिक, काठमाडौं । मिति २०८० साल कार्तिक ६ गते सोमबार आश्विन शुक्लपक्ष नवमी तिथि अपरान्ह: ३ / ११ बजेसम्म त्यस उप्रान्त दशमी तिथि आरम्भ भएकोले नौरथाको नवौँ दिनलाई महानवमी भनिन्छ। यस दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ।देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैलाई सिद्धि प्राप्त गर्न सक्नेछन् ।

नवरत्रको नवौंदिन अर्थात् नवमी तिथि यिनै सिद्धिदात्रीलाई समर्पित छ, देवी दुर्गाको सिद्धिदात्री रूपको साधना एवं पूजा गर्ने गरिन्छ ।देवी सिद्धिदात्री नव दुर्गाको श्रेणीहरूमा अन्तिम स्थानमा आसीन हुनुहुन्छ ।देवीको साधनाले सम्पूर्ण ब्रह्माण्डमा विजय प्राप्त गर्न सकिन्छ, लौकिक तथा पारलौकिक सबै प्रकारको मनोकामना पूर्ण हुनसक्छ ।

यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई नरिवेलको बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ।यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।महानवमीमा नवदुर्गा स्वरूपा केराको पातमा नौ वटा चामलको थुप्राहरु बनाई त्यसमाथी सुपारी राखी यसैगरी शैलपुत्री , ब्रह्मचारिणी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ।त्यसपछी विशेष गरी सिद्धिदात्री देवीको पूजा-आजा गरिन्छ। सिद्धिदात्री देवीको पूजा,अर्चना गर्नाले मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व यो आठ सिद्धिहरु हुन्छन्। ब्रह्मवैवर्तपुराणका श्रीकृष्ण जन्म खण्डमा यही संख्या अठार मानिएको छ।
यिनका नामहरु हुन् –

१, अणिमा २, लघिमा ३, प्राप्ति ४, प्राकाम्य ५, महिमा ६, ईशित्व,वाशित्व ७, सर्वकामावसायिता ८, सर्वज्ञत्व ९, दूरश्रवण १०, परकायप्रवेशन ११, वाक्‌सिद्धि १२, कल्पवृक्षत्व १३, सृष्टि १४, संहारकरणसामर्थ्य १५, अमरत्व १७, सर्वन्यायकत्व १७, भावना १८, सिद्धि ।यी देवी बाट प्राप्त हुने छ।
पं बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment