देवयानी इन्टरनेसनलले विराटनगरमा पनि सञ्चालनमा ल्यायो केएफसी र पिज्जाहट

०२ कार्तिक,विराटनगर। विराटनगरमा केएफसी र पिज्जा हटका छुट्टाछुट्टै आउटलेट सञ्‍चालनमा आएका छन्। नेपालमा केएफसी र पिज्जा हटको आउटलेट चलाउन इजाजतप्राप्त फ्रेन्चाइजी देवयानी इन्टरनेसनल नेपालले विराटनगरमा पनि आउटलेट सञ्‍चालनमा ल्याएको हो।


उद्योगी एवं पूर्व राज्यमन्त्री मोतीलाल दुगडको निर्माणाधीन द सेन्चुरियन मलको भुईंतलामा केएफसी र पिज्जा हटका आउटलेट खुलेका हुन्। पूर्व राज्यमन्त्री दुगडले दुवै आउटलेटको उद्‍घाटन समेत गरेका छन्।

सन् २०१५ मा शिलान्यास गरिएको द सेन्चुरियन मलको निर्माण अझै सकिएको छैन। दुगडले यस मलमा पाँच तारे होटेल र मल सञ्‍चालन गर्ने योजना बनाएका छन्।

देवयानी इन्टरनेसनलका कन्ट्री म्यानेजर विजय शर्माका अनुसार विराटनगरका लागि केएफसी पहिलो हो भने नेपालको १७औँ आउटलेट हो। त्यस्तै, पिज्जा हट कोशी प्रदेशका लागि पहिलो र समग्र नेपालका लागि ५औँ आउटलेट हो।

म्यानेजर शर्माले विराटनगरको केएफसीमा हट एन्ड क्रिस्पी चिकन, स्वादिष्ट चिकन, पपकर्न, चिकेन स्ट्रिप्स, जिंगर बर्गर, केएफसी बकेटसहित भेजिटेरियन मिल्स पनि उपलब्ध हुने बताए।

त्यस्तै, पिज्जा हटमा ग्राहकको स्वादअनुसार विभिन्‍न प्रकारका पिज्जा पनि तयार गरिने छ। यस आउटलेटमा विभिन्‍न भेराइटीका टपिङ, स्वादिष्ट पास्ता व्यञ्‍जन र एपेटाइजरका डिस पनि उपलब्ध रहेको शर्माको भनाइ छ।

कुल १ हजार ५३४ वर्गफिटमा खोलिएको केएफसीमा ५७ जनाको सिटक्षमता छ। त्यस्तै १ हजार २५० वर्गफिटको पिज्जाहटमा ५० जनाका लागि कुर्सी-टेबुल राखिएका छन्।

केएफसी र पिज्जाहट सँगसँगै देवयानीले द सेन्चुरियन मलमै क्रिम बेलको आइसक्रिम पार्लर पनि सँगै सञ्‍चालनमा ल्याएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment