पोखरा-मुग्लिन स्तरोन्नति भइरहँदा गाडी गुड्न समस्या, पर्यटक आएनन्

३० असाेज,पोखरा। दसैँ मनाउने गरी घर फर्कन पोखरा कास्कीकोटका गौरव सुवेदीले काठमाडौंमा शुक्रवार टिकट काटे । टिकट काटेअनुसार उनी सोमबार बिहान ६ बजे काठमाडौं बसपार्क पुग्छन् । साढे ६ काठमाडौं बसपार्कबाट हिँडेका उनले बेलुका साढे ४ बजे पोखरा बसपार्कमा पाइला टेके ।

सामान्य बेला ६ घण्टाको काठमाडौं–पोखरा यात्रा उनलाई पोखरा आइपुग्न १० घण्टा लाग्यो । ‘बिहान साढे ६ बजे काठमाडौंबाट गाडी चढेको हुँ । १ बजेतिर आइपुगेला जस्तो लागेको थियो । तर, साढे ४ बजे बल्ल आइपुगियो,’ निन्याउरो मुख लगाउँदै उनले भने ।

बाटो कस्तो लाग्यो, किन यति धेरै समय लाग्यो भनेर सोध्दा उनले कपडामा लागेको धुलो पुच्छै भने, ‘बाटो त एकदमै खत्तम छ ।’ उनले यति मात्रै बोले पनि उनको अनुहारले धेरै भन्न खोजेको स्पष्ट देखिन्थ्यो । दसैँ नजिकिएसँगै पोखरा भित्रिने र पोखराबाट बाहिरिने यात्रुको संख्या बढेको छ । तर, पोखरा भित्रिने र बाहिरिने हरेक यात्रुहरू भने बिग्रँदो सडकको अवस्थाका कारण सास्ती भोग्न बाध्य छन् । काठमाडौं–पोखरा ६ घण्टा लाग्नेमा सडकको दुरवस्थाका कारण अहिले १० देखि १२ घण्टा यात्रा गर्नुपर्ने बाध्यता छ ।

सडकको दुरावस्थाले पर्यटक आगमनमा समेत प्रभाव परेको व्यवसायीहरू बताउँछन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मुग्लिन–पोखरा सडकको स्तरोन्नति नहुँदा पोखरामा आउने पर्यटकको संख्या घटेको बताउँछन् ।

‘मुग्लिन पोखरा सडकले गर्दा सोचेअनुसारको पर्यटक भित्रिएको छैन । बाटोका कारणले दसैँ बिदामा आउने आन्तरिक पर्यटक धेरैभन्दा धेरै घटेका छन् । जसले पोखराको पर्यटनमा ठूलो क्षति पुगेको छ,’ उनले भने ।

पोखरा भित्रिएका पर्यटकले बाटोको कारण धेरै दुःख पाएको गुनासो गर्ने गरेको श्रेष्ठले सुनाए । उनले भने, ‘पोखरा आइसकेका पर्यटकले पनि बाटोको कारणले धेरै दुःख पाएको गुनासो गर्छन् । पर्यटनमा धेरैभन्दा धेरै क्षति पुगेको छ । यसमा सरकारी पक्ष बेलैमा ध्यान दिनु जरुरी छ । छिटोभन्दा छिटो बाटोको स्तर सुधार्नुपर्छ ।’

मुग्लिनदेखि पोखरासम्मको ८० किलोमिटर सडक सहरी भेगमा ६ लेन र ग्रामीण भेगमा ४ लेनमा विस्तार गर्ने गरी दुई खण्डमा स्तरोन्नति भइरहेको छ । मुग्लिनदेखि तनहुँको जामुनेसम्मको पूर्वी खण्डमा चिनियाँ ठेकेदार कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

२०७७ माघ १७ मा सम्झौता भएर २०७८ वैशाख २ देखि काम सुरु भएको यो ४१‍.४५ किलोमिटर खण्डको म्याद २०८१ वैशाखसम्म छ । साउनसम्म उक्त खण्डको भौतिक प्रगति ३१ प्रतिशत मात्र छ । यो खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख छ ।

पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम अझै सुस्त छ । जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम चीनकै अनहुइ कैयुएन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ ।

२०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम ०८१ भदौ १२ मा सम्पन्न गरिसक्नुपर्छ । ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको यो खण्डको हालको भौतिक प्रगति भने ८ प्रतिशत मात्रै छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशिराम गैरे सोचेअनुसार प्रगति नहुँदा आफूहरू धेरै चिन्तित रहेको बताउँछन् । ‘यो खण्डमा दुवैतर्फ सोचेअनुसारको काम हुन सकेको छैन । पूर्वी खण्ड केही हदसम्म सन्तोषजनक भए पनि पश्चिम खण्डको प्रगति चिन्ताजनक छ । ७० प्रतिशत समय सकिँदा ८/९ प्रतिशत मात्र काम भएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेका छौँ,’ उनी भन्छन् ।

सडकको अवस्थाका बारेमा दैनिक २/३ वटा गुनासो आउने गरेको सहायक प्रजिअ गैरे सुनाउँछन् । उनी भन्छन्, ‘चाडपर्व आएसँगै सडकमा सवारी चाप बढेको छ । सडकको अवस्था उस्तै छ । जनताहरू दैनिक २र३ वटा गुनासो प्रमुख जिल्ला अधिकारीसमक्ष आउनुहुन्छ ।’

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अघिल्लो वर्षभन्दा ६० प्रतिशत यात्रुको संख्या घटेको बताए । ‘अहिले त पोहोरभन्दा ६० प्रतिशत पनि यात्रुको चाप छैन । व्यवसायीहरू एकदमै मार परेको छ । सडकको अवस्था पनि निकै दर्दनाक नै छ । ड्राइभरहरू रुन सकेका छैनन्,’ उनले भने ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment