कोशीमा मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखले आज सांसदहरुको सनाखत गर्दै

२७ असोज,कोशी । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्। मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन्।

प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुलाई हस्ताक्षर सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय दिएका छन्। प्रदेश प्रमुखको कार्यालयले दुवै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन आग्रह गरेको छ।

प्रदेशसभा सदस्यहरुले प्रमुखको कार्यालयमै पुगेर आफूले गरेको हस्ताक्षरको सनाखत गर्नुपर्ने छ। माओवादी केन्द्रका आङ्बो र नेपाली कांग्रेसका कार्कीले बहुमत सदस्य अर्थात् ४७ जना सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुखसमक्ष शुक्रबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

दार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ प्रदेशसभा सदस्य शुक्रबार प्रदेश प्रमुख खापुङ्गको कार्यालयमा पुगेर दबाब दिएका थिए।

यता सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले सहमतिबाटै कोशीका मुख्यमन्त्री टुंगो लगाउनुपर्ने निस्कर्ष निकालेको छ। बैठकमा शेखर कोइराला अनुपस्थित भएपछि आज विहान पुन बैठक बसेर निर्णय गर्ने सहमति भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment