भूकम्पले घर लग्यो, हमासले छोरा

२३ असोज,धनगढी। माटोको गारोले बनेको कच्ची घरलाई ६.६ म्याग्निच्युडको भूकम्पले थेग्न सक्ने कुरै थिएन । गत मंगलबार गएको भूकम्पले बझाङको जयपृथ्वी नगरपालिका ११ चैनपुरका धनलाल नेपालीको घरका भित्तामा चिरा परेका छन् ।

सुरुका दुई दिनरात त उनीहरू त्रिपाल हालेर चौरमै बसे । तर कतिन्जेल बाहिर बस्नु ∕ जोखिम मोलेर त्यही घरमा बस्दै आएका नेपाली परिवारलाई तत्काल अन्त जाने ठाउँ छैन ।

गाउँमा भूकम्प गएको थाहा पाएर इजरायलमा रहेका छोरा गणेशले आमालाई फोन गरेका थिए । ‘घर कति क्षति भयो भनेर सोधेको थियो,’ आमासँगको कुराकानीमा गणेशले भनेका थिए‚ ‘घर धेरै चर्केको भए भित्र नबस्नुहोला, आफ्नो परानीको ख्याल राख्नु होला ।’ बझाङको जयपृथ्वी नगरपालिका ११ चैनपुरका गणेश नेपालीको त्यही वाक्य आमाबाबु र घर परिवारका लागि अन्तिम बन्यो ।

धनलालका कान्छा छोरा गणेश अध्ययनको सिलसिलामा इजरायल गएको एक महिना पुग्नै थालेको थियो । यही बेला शनिबार साँझपख धनलालका जेठा छोरा विकासले इजरायलमा हमासबाट आक्रमण भएको र नेपाली पनि परेको हल्ला सुने । हत्तपत्त उनले आमाबुवालाई पनि खबर सुनाए । त्यो खबर सुनेदेखि धनलाल परिवारको मन बेचैन हुनथाल्यो । उनीहरूले कयौं पटक उनीहरूले भिडियो कल र फोन गर्ने प्रयास गरे, तर सम्पर्क भएन । त्यसपछि त उनीहरूको मनमा चिसो पसिसकेको थियो ।

आइतबार साँझ सार्वजनिक भएको सूचीमा आफ्नो भाइ गणेशको नाममा पनि देखेपछि दाजु विकास आफैँ भक्कानिए । ‘आफैँलाई सम्हालिन कठिन भइरहेको थियो, तर पनि आमाबुबालाई लुकाएर राख्न सक्ने कुरै थिएन, घरमा भनेँ,’ विकासले भने ‘घरपरिवारमा सबैको रुवाबासी छ । गाउँका दाजुभाइहरू सम्झाउने प्रयास गरिरहनुभएको छ, तर घरमा कोही सम्हालिइरहनुभएको छैन ।’ याे समाचार कान्तिपुर दैनिकमा छ



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment