देशैभर दसैँ लक्षित सुपथ मूल्य पसल,कति छुट? कुन वस्तुको मूल्य कति?

२२ असाेज, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आइतबारबाट देशभरि सहुलियत पसल सञ्‍चालनमा ल्याएको छ। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ र दुग्ध विकास संस्थानले देशका विभिन्‍न स्थानमा सहुलियत पसल सञ्‍चालनमा ल्याएका हुन्।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बिक्री कक्षमा पुगेर सहुलियत पसल उद्‍घाटन गरे। उनले चाडपर्वमा दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउन उद्देश्यले पसल सञ्‍चालनमा ल्याएको बताए।

‘चाडपर्वका बेला उपभोग्य वस्तुको खपत बढी हुन्छ। यसै मौकामा व्यापारीले कृत्रिम अभाव सिर्जना गर्नेदेखि मिसावट गरिएका र म्याद सकिएका सामान बेच्ने गर्छन्। यस्तो बेला बजारमा उपभोग्य वस्तुको मूल्यमा एकरुपता ल्याउने र गुणस्तरहीन वस्तुको बिक्री रोक्ने रणनीतिसहित सहुलियत पसल सुरु गरिएको हो,’ उनले भने।खाद्य व्यापार कम्पनीले ४८, साल्ट्र टेडिङले ३५ र दुग्ध विकास संस्थानले ११ ठाउँमा सहुलियत पसल सञ्‍चालन गरेका छन्। खाद्य व्यापार कम्पनीले काठमाडौं उपत्यकासहित पोखरामा अनलाइन सेवाका साथै नि:शुल्क डेलिभरीको व्यवस्था गरेको छ।

कुन वस्तुमा कति छुट?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटक २२ प्रकारका वस्तुमा सहुलियत दिएको छ। कम्पनीले हुम्लाको कागुनो चामल र चिनो चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ। यी दुवै चामलको मूल्य प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ। त्यसैगरी, बासमती, लंगग्रेन, काला नुनिया, ब्राउन, मार्सी र जिरा मसिनो चामलमा उपभोक्ताले बजार मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँ सस्तो पाउनेछन्।

सहुलियत पसलमा प्रतिकिलो मुसुरो दाल (ठूलो) १३८, मुसुरो दाल (सानो) १५८, मास दाल १८३ र मुँग खोस्टाको मूल्य प्रतिकिलो १६३ रुपैयाँ छ। त्यसैगरी तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। तोरीको तेल (शान्ती) ३८०, तोरीको तेल (तृप्ती) /सन्फ्लावर तेल २०० र भटमासको तेल प्रतिलिटर १९३ रुपैयाँमा पाइन्छ।

गेडागुडीमा उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ। चिउराको मूल्य बजारमा भन्दा प्रतिकिलो ७ रुपैयाँ छुटसहित ९३ रुपैयाँ तोकिएको छ। उपभोक्ताले सहुलियत पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाएका छन्। खसीबोका, च्याङ्ग्रा र भेडाको मासुमा भने १० रुपैयाँ छुट दिइनेछ।

खाद्यान्‍नको विवरणकिलो/लिटरसाविकको बिक्री मूल्यछुटपछिको बिक्री मूल्य
मार्सी चामल१ किलो२२५२१८
हुम्लाको कागुनो चामल१ किलो२६०२५०
हुम्लाको चिनो चामल१ किलो२६०२५०
बासमती चामल१ किलो१३५१२८
स्टिम जिरा मसिनो चामल२५ किलोको बोरा२१२५१९५०
मुँग खोस्टा१ किलो१७०१६३
मुसुरो दाल (ठूलो)१ किलो१४५१३८
मुसुरो दाल (सानो)१ किलो१६५१५८
मास दाल१ किलो१९०१८३
कर्णालीको सिमी१ किलो२४०२३०
तोरीको तेल (तृप्ती)१ लिटर२०७२००
तोरीको तेल (शान्ती)१ लिटर३८७३८०
सन्फ्लावर तेल१ लिटर२०७२००
भटमासको तेल१ लिटर२००१९३
चिउरा१ किलो१००९३
चना१ किलो१२२११२
डीडीसीको घिउ१ किलो१२००११८०
आँटा५ किलो३६०३२५
स्रोत: खाद्य व्यवस्था तथा व्यापार कम्पनी

उपभोक्ताले सहुलियत पसलमा सबैभन्दा बढी छुट डीडीसीको घिउमा पाउनेछन्। बाहिर प्रतिकिलो १ हजार २०० रुपैयाँ पर्ने घिउ सहुलियत पसलमा १ हजार १८० रुपैयाँमा पाइन्छ। नुन, एलपी ग्यास, सिलिण्डर र इन्डक्सन चुलोमा भने छुट दिइएको छैन।

चिनी सस्तो पाउँदा पनि बेखुसी

बजारमाभन्दा सस्तो मूल्य हुँदा भएकाले शंखमुल बस्‍ने माया गौतम चिनी किन्‍न थापाथलीस्थित सहुलियत पसल पुगेकी थिइन्। पसल २ किलोभन्दा बढी किन्‍न नपाएकामा उनको गुनासो छ।

‘अरु सबै त ठिकै हो तर चिनी २ किलो मात्रै भन्दा मन खिन्‍न भयो। चाडपर्वमा चिया र सेलरोटीका लागि चिनी धेरै चाहिन्छ। कमसेकम चाडपर्वको बेला ५ किलो दिनुपर्ने हो,’ उनले भनिन्।

बजारमा प्रतिकिलो १२० रुपैयाँभन्दा महँगो रहेकाले सहुलियत पसलमा खासगरी चिनीको माग धेरै छ। बानेश्‍वर बस्‍ने बासुदेव पौडेलले बाहिरभन्दा सस्तो र गुणस्तरीय सामान भएकाले सहुलियत पसल पुगेको बताए। तर मागअनुसार चिनी नपाएकामा उनको पनि गुनासो छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment