ग्लोबल नेपाली हेल्थ कन्फरेन्स: प्रवासीहरुको स्वास्थ्यलाई लिएर २० बुँदे टोकियो घोषणापत्र जारी

०३ असाेज, टोकियो । प्रवासीहरुको स्वास्थ्यलाई लिएर २० बुँदे टोकियो घोषणा पत्र जारी भएको छ। जापानको टोकियोमा यही सेप्टेम्बर १५ देखि १७ सम्म उक्त कन्फरेन्स भएको थियो। ‘प्रवासीहरुको स्वास्थ्य चासो, स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच’ विषयमा भएको ३ दिने सम्मेलनपछि घोषणा पत्र जारी गरिएको हो।

घोषणापत्रमा स्वास्थ्य विश्वव्यापी मानव अधिकारको रूपमा व्यक्ति, समुदाय, राज्य र राष्ट्रहरूको प्राथमिकतामा पर्ने उल्लेख छ। विश्वभरिका स्वास्थ्य सूचना र सेवाहरूको पहुँचमा कुनै पनि नेपाली पछाडि नरहने कुरा सुनिश्चित गर्ने भनिएको छ।

घोषणापत्रको बुँदा नम्बर २ मा छ, ‘नेपाली बसोबास गर्ने, अध्ययन गर्ने वा काम गर्ने देशका सरकारहरूलाई हामी (नेपाली) आप्रवासीहरूका लागि आधारभूत विश्वव्यापी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आह्वान गर्दछौं। हामी द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरू, संस्थाहरू र संघहरूलाई प्रवासीहरूको स्वास्थ्य आवश्यकताहरूलाई पहिचान गर्न र सम्बोधन गर्न पनि आग्रह गर्दछौँ।’

प्रवासीहरूले फरक किसिमका स्वास्थ्य चुनौतीहरूको सामना गरिरेहको निष्कर्षसहित ती चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कडा कदम आवश्यकता रहेको ठहर उक्त सम्मेलनले गरेको छ। ‘आप्रवासीहरुको बढ्दो आत्महत्या र यसको आर्थिक–सामाजिक प्रभावबारे हाम्रो ध्यानाकर्षण भएको छ। हामी विश्वभर रहेका नेपालीहरु जो मानसिक स्वास्थ्य सम्बन्धि काम गरिरहेका छन् उनिहरुलाई एकताबद्ध भएर प्रभावितहरू (पिडितहरु) लाई सहयोग गर्न आह्वान गर्दछौं,’ सम्मेलनको निष्कर्ष छ।

सम्मेलनले स्वास्थ्य सेवामा सहभागी, साझेदार, व्यक्ति, एजेन्सी, र संस्थाहरुले महत्वपूर्णरुपमा विश्वव्यापी रूपमा रहेका नेपालीहरुलाई प्रदान गरेको स्वास्थ्य सेवा प्रति आभार प्करट गरेको छ। नेपाली प्रवासीहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्ने मुख्य बाधाहरूः भाषा, संस्कृति, कानुनी र वित्तीय स्थिति, शिक्षाको स्तर र अन्य नदेखिने उल्झनहरु रहेको प्रष्ट्याएको छ।

‘यो सम्मेलनले उक्त अवरोधहरू हटाउन र आप्रवासीहरूको लागि स्वास्थ्य सेवा सुधार गर्न आप्रवासीहरूका लागि काम गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई प्रवासीहरु र सम्बन्धित विशेषज्ञहरूबीच सम्पर्क स्थापित गर्ने प्लेटफर्म प्रदान गर्न महत्त्वपूर्ण कदम चाल्छ,’ घोषणा पत्रमा भनिएको छ।

स्वास्थ्य क्षेत्रको विकासमा अनुसन्धानको महत्त्वलाई प्रकाश पार्दै विश्वभरका नेपाली अनुसन्धानकर्ताहरूलाई सहयोग गर्ने वाचा समेत सम्मेलनमार्फत गरिएको छ।

यसैगरी बिरामीहरूको जीवन बचाउने र तिनीहरूको दीर्घजीवन सुनिश्चित गर्ने चिकित्सकहरूलाई सुरक्षित काम गर्ने वातावरणको आवश्यकता पर्नेमा जोड दिइएको छ।

‘स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि प्रकारको हिंसाको विश्वभरी रहेका नेपाली समुदायले कडा शब्दमा निन्दा गर्नुपर्दछ,’ घोषणापत्रमा उल्लेख छ, ‘स्वास्थ्य क्षेत्रले मात्रै विश्वव्यापी स्वास्थ्य सेवाका लक्ष्यहरु हासिल गर्न सक्दैन। हामी विश्वभरका नेपालीहरूलाई सहकार्य र साझेदारीको लागि जोड दिन्छौँ।’

कार्यक्रममा जापानका साथै अमेरिका, बेलायत, युएई, कतार नेपाल, अस्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यसेवीहरुको सहभागीता रहेको थियो। स्वास्थ्यखबर पत्रिका मिडिया पार्टनरका रुपमा सहभागी रहेको थियो।

कार्यक्रममा साइन्टिक पेपर प्रिजेन्टेसन, वर्कसप, सीप विकास कार्यक्रम, नीतिगत छलफल, घोषणालगायत गरिएको थियो। सम्मेलन फलदायी रहेको आयोजक कमिटीकी अध्यक्ष डा एलिजा केसी भण्डारीले बताएकी छन्। उनले भनिन्, ‘नेपाल बाहिर रहेका नेपालीहरुको स्वास्थ्यका विषयमा संवाद सुरुवात गर्न पाएका छौं र उनीहरुलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन सवैतिरबाट लाग्नुपर्ने निष्कर्ष निकालेका छौं।’

‘माइग्र्यान्टस् हेल्थ म्याटर्स, युनिभर्सल हेल्थ केयर फर अल’ राख्नुको कारण आप्रवासीहरुको स्वास्थ्य र स्वास्थ्य उपचारमा केन्द्रित हुन खोजिएको उनको भनाइ छ।

कार्यक्रममा एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटा, एनआरएनए ग्लोबल हेल्थ कमिटीका उपाध्यक्ष तथा आयोजक कमिटी अध्यक्ष डा एलिजा केसी भण्डारी (जापान), साइन्टिफिक कमिटी अध्यक्षमा डा लुशुन चालिसे, सह-अध्यक्षमा डा सागर पौडेल, डा प्रकाश श्रेष्ठ अमेरिकन रिजन हेल्थ टिम, अनिशा भण्डारी, पब्लिक हेल्थ ग्र्याजुएट शिवप्रसाद पौडेल, पूर्व अध्यक्ष एनआरएनए जापान, नेहा शर्मा नर्स अमेरिका, अर्जुन बगाले आयोजक कमिटी सचिव रहेका थिए।

यसैगरी साइन्टिफिक कमिटी मेम्बरमा सुवास अधिकारी, डा सुमन श्रेष्ठ, डा सन्तोष श्रेष्ठ, डा मेलिसा रन्जित, सुजाता अधिकारी र डा विकास लम्साल रहेका थिए। कार्यक्रम समितिका सह-अध्यक्षमा डा सन्दीप शाक्य, कार्यक्रम समितिमा डा सुप्रिया शाक्य र डा ससीम पौडेल रहेका थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment