रोजगारीको झुटो विज्ञापन गरी करोडौँ ठगी

२५ भाद्र, काठमाडौं । वैदेशिक रोजगारीका नाममा नक्कली विज्ञापनको बिगबिगी बढेको छ । केही म्यानपावर, व्यक्तिगत एजेन्ट, कन्सल्टेन्सी र भिसा सेन्टरका नाममा खोलिएको संस्थाले सरकारी लोगो नै प्रयोग गरेर वैदेशिक रोजगारी डिमाण्डको नक्कली विज्ञापन गर्न थालेका हुन् । भदौ १९ गते जर्मनीमा तीन हजार सहायक कामदारको माग आएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग गरी झुटो विज्ञापन गरेको उजुरी विभागमा परेको थियो । विभागले उजुरीका आधारमा अनुसन्धान गर्दा श्रम मन्त्रालय र विभागको लोगोभित्र डिमाण्डको विज्ञापन गरेको तथ्य फेला परेको थियो ।

विभिन्न अनधिकृत व्यक्ति तथा संस्थाले यसरी झुटो रोजगारीको प्रलोभनसहितको विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले बताउनुभयोे । उप्रेतीका अनुसार श्रमिक ठग्ने नियतले गरिएका विज्ञापनको प्रथमपटक प्रकाशित मिति यही भदौ १९ गते उल्लेख छ भने नेपाल र जर्मनीबीच भएको श्रम सम्झौताअनुसार कामदार माग गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रलोभनमा पार्न मासिक तलब दुई हजार अमेरिकी डलर हुने, करार अवधि एक वर्षको हुने जस्ता विवरणसमेत उल्लेख गरिएका छन् । यो त उदाहरणमात्र हो । यसरी वैदेशिक रोजगारीका नाममा विज्ञापन गरेर ठगी गर्ने गिरोह सक्रिय रहेका छन् ।’ म्यानपावर कम्पनीले समेत झुटो विज्ञापन सामाजिक सञ्जालमार्फत् गरेको पाइएपछि विभागले कारबाही गरिरहेको छ । तर, व्यक्ति, कन्सल्टेन्सी र अन्य क्षेत्रबाट गरिएका झुटो विज्ञापन नियन्त्रण चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । विभागका अनुसार तीन हजार सहायक कामदार सरकारी प्रक्रियामार्फत् नै पठाइने, त्यसमा २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष श्रमिक लैजाने भनेर विज्ञापनमा बताइएको छ । आवेदन विभागको वेबसाइटमार्फत् दिन सकिने भनेर समेत विज्ञापनमा भनिएको छ । जर्मनीजस्तै दक्षिण कोरियामा पनि मौसमी कामदारमा पठाउने भन्दै केही व्यक्ति र एजेन्टले विज्ञापन गरी श्रमिकसँग रकम उठाइरहेको सूचना आएको श्रम मन्त्रालयले जनाएको छ । मौसमी कामदार लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले मौसमी कामदार पठाउने सम्झौता कोरियासँग नभएको पुष्टि गरेको हो । नक्कली सूचनामा कात्तिक २२ सम्ममा १२ हजार नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ । श्रम मन्त्रालयले सामाजिक सञ्जालका नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रूपमा भ्रममा नपर्न आग्रह गरेको छ ।

त्यस्तै, क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली विज्ञापन गरी सम्पर्कमा आएका व्यक्तिसँग क्यासियरको काममा पठाइदिने भन्दै ठूलो रकम ठगी भइरहेको विभागले जनाएको छ । यसरी गरिएको विज्ञापनमा मासिक पाँच लाख ४५ हजार रुपैयाँ तलब हुने प्रलोभन देखाएर प्रोसेसिङका लागि आवश्यक कागजात पठाउन भन्दै दलालले प्रतिव्यक्ति ७० हजारदेखि एक लाख रुपैयाँसम्म ठगी गरिरहेको विभागले जनाएको छ ।

युरोपका देश, अफ्रिकी देश, खाडी र मलेसियामा धेरै कमाइ हुने रोजगारीको प्रलोभन देखाएर मासिक ठूलो संख्यामा विदेश जान खोज्ने कामदार ठगीमा पर्ने गरेको विभागले जनाएको छ । विभागका अनुसार मासिक नक्कली रोजगारीको विज्ञापन गरी नौ करोडभन्दा बढी आर्थिक ठगी भइरहेको छ । यसरी ठगी गर्ने गिरोह नेपाल, भारत, युएई र अन्य देशमा बसेर नक्कली विज्ञापन गरिरहेका छन् । गिरोहको नक्कली विज्ञापनमार्फत् सम्पर्कमा पुगेका कामदारलाई उनीहरूले प्रोसेसिङका नाममा प्रतिव्यक्ति दुई लाख लिने गरेको उजुरी लिएर पीडित धाउने गरेको विभागले जनाएको छ । सेक्युरिटी डिपोजिट, हेल्थ इन्सोरेन्स, एलोकेटेड फण्ड, भिसा भेरिफिकेसन डिएचएलमार्फत् कागजात पठाउन रकम तिर्नुपर्छ भन्दै दलालले बैंक खातामा रकम पठाउन लगाउने गरेको विभागका सूचना अधिकारी उप्रेतीले जानकारी दिनुभयो ।

सरकारले हालसम्म रोजगारीका लागि संस्थागत रूपमा पठाउन एक सय ११ देश खुला गरेको छ । त्यसमध्येमा पनि युद्धग्रस्त तीन देशमा श्रमिक पठाउन प्रतिबन्ध लगाएको छ । व्यक्तिगत रूपमा भने एक सय ७८ भन्दा बढी देशमा रोजगारीका लागि नेपालीहरू गइरहेका छन् । जर्मनीसँग भने श्रम सम्झौता नभएको श्रम मन्त्रालयले जनाएको छ । श्रम सम्झौता नभएका देशमा व्यक्तिगत भिसामा कामदार रोजगारीमा जाने गरेका छन् । पछिल्लो समय संस्थागत नै व्यक्तिगत भिसामा कामदार वैदेशिक रोजगारीमा जान थालेको विभागकै तथ्यांकले देखाउँछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment