रसियन सेनामा नेपाली भर्ती भएको विषयमा सरकार बेखबर, रसिया जानेको संख्या पाँच सय प्रतिशत

२७ साउन, काठमाडौं । रोजगारीका लागि भन्दै रसिया जाने नेपालीको संख्या एक्कासि बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष पाँच सय प्रतिशत बढी नेपालीहरू रसिया रोजगारीका लागि गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । अघिल्लो आर्थिक वर्षमा रोजगारीका लागि रसिया जान ५९ जनाले श्रमस्वीकृति लिनेको विभागको तथ्यांकमा छ । गत आवमा यो संख्या तीन सय हाराहारी पुगेको छ । चालु आर्थिक वर्ष सुरु भएको तीन सातामा एक सय जनाभन्दा बढीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विभिन्न भिसामा गत वर्ष ८५५ जना नेपाली रसिया प्रवेश गरेको जनाएको छ । पछिल्ला तीन वर्षसँग गत वर्षलाई तुलना गर्दा यो पाँच सय प्रतिशतभन्दा बढेको विभागको तथ्यांकमा छ । एक वर्षभन्दा बढी समयदेखि रसिया र युक्रेनबीच युद्ध भइरहेका बेला सेनामा बाहेक अन्य क्षेत्रमा रोजगारीका अवसर कम हुने रोजगारविज्ञहरू बताउँछन् । तर, नेपालीहरू भारत हुँदै रसिया रोजगारीका लागि गइरहेको पाइएको छ ।

पछिल्लो समय रसिया प्रवेश गरेका नेपाली युवा रसियन सेनामा भर्ती हुने गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । नेपालबाट पनि रसियन सेनामा भर्ती गर्न सामाजिक सञ्जालमा विज्ञापन भइरहेको छ । विगत सात महिनायता नेपाली युवा भारत हुँदै रसिया पुगेर सेनामा भर्ती भइरहेको खबर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि पटक–पटक पाइरहेको छ । सामान्यतया युद्धग्रस्त देशहरूमा जाने कामदारको सरकारले श्रम स्वीकृति रोक्ने गरेको छ । तर, रसियाका हकमा लागू भएको छैन । रसिया भारत हुँदै ठूलो संख्यामा नेपालीहरू सेनामा भर्ती हुन गइरहेको विभागलाई सूचना आए पनि यो विषयमा सरकार मौन बसेको देखिन्छ ।

रसियाका हकमा श्रम स्वीकृति लिनेले तोकिएको रोजगारदातासँग नै काम गर्छन् भनेर कागजात हेरेर श्रम स्वीकृति जारी गरिँदै आएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि रसिया जान श्रम स्वीकृति लिने कामदारको संख्या एक्कासि बढेको विभागका महानिर्देशक दाहाल स्वीकार्नुहुन्छ । ‘रसियन सेना भर्तीका लागि विभागले श्रम स्वीकृति जारी गरेको छैन । तर, रसियन सेनामा नेपालीहरू भर्ती भइरहेको चर्चा छ । यो विषममा सरकार गम्भीर भएर अध्ययन गरिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘युद्धका बीच रसिया जानेको संख्या बढ्नुले नेपाली युवा अन्य भिसा प्रयोग गरी त्यहाँ सेनामा भर्ती हुन गइरहेको आशंका सरकारको पनि छ । तर, तथ्य फेला परेको छैन । श्रम स्वीकृति लिएर गएका युवा सेनामा भर्ना सक्छन् ।’ नेपालीहरू रसियन सेनामा भर्ती भइरहेका छन् । यो विषयमा सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगबाट जानकारी लिने प्रयास भइरहेको उहाँको भनाइ छ ।

रसिया सेनामा नेपाली भर्ती भइरहेको दाबी

नेपालीले रसियाले मासिक २७०० युरो दिने भएका कारण सेनामा भर्ती भइरहेको रोजगार व्यवसायीहरूले बताएका छन् । अध्ययनका लागि रसिया गएका कतिपय विद्यार्थीसमेत सेनामा भर्ती भइरहेको र पछिल्लो समय नेपालबाट पनि जान थालेको एक म्यानपावर व्यवसायीले जानकारी दिनुभयो । युक्रेन तथा रसियासँग सिमाना जोडिएका आधा दर्जन श्रम गन्तव्यमा १० हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेका छन् । ती देशमा पुगेका नेपाली कामदार रसियन सेनामा प्रवेश गरिरहेका ती म्यानपावर व्यवसायीले बताउनुभयो । ती व्यवसायीले दाबी गरेअनुसार नै पछिल्लो समय सामाजिक सञ्जालमा नेपालीहरू रसियन सेना भर्ती भइरहेको पाइएको छ ।

सरकारबाट सुरक्षा गार्डबाहेक युद्ध गर्ने लक्ष्यले सेनामा भर्ती हुन श्रम स्वीकृति जारी हुँदैन । तर, सेनामा भर्ती भएका कतिपय नेपाली हाल तालिममा रहेको फोटो, भिडियो टिकटक, युटुयुब, फेसबुकमा पोष्ट हुन थालेका छन् । सामाजिक सञ्जालमा कतिपय नेपालीले तालिम अवधिमा क्याम्पभित्रै नेपालीहरू लोकदोहोरीमा नाचिरहेको दृश्य पनि पोष्ट गरेका छन् । यो विषयमा सरकारले केही प्रतिक्रिया जनाएको छैन ।

यस्तै, नेपालमा बेरोजगारीले आक्रान्त भएका बेला जोखिमका बीचमा पनि नेपाली युवा रसिया सेना भर्ती हुन तयार हुने अवस्था भएको रोजगारविज्ञ गणेश गुरुङ बताउनुहुन्छ । नेपालीहरू वीर गोर्खाली भएका कारण पनि नेपालीहरूलाई रसियाले सेना लिनसक्ने अथवा लिइरहेको उहाँको भनाइ छ ।

रोमानिया, पोल्याण्ड, रसिया, हंगेरी, युक्रेन र सार्वियाबाट एक वर्षअघि नेपाली दूतावास बर्लिनले युक्रेनमा रहेका नेपालीहरूलाई सुरक्षित ठाउँमा पु¥याउन सहजीकरण गरेर केही नेपालीको उद्धार गरेको थियो । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त क्षेत्रमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रमा जाँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति पनि सम्बन्धित पक्षलाई सूचित गराएको छ । हाल रसियामा चारदेखि पाँच हजार नेपाली कार्यरत रहेको सरकारको अनुमान छ । रसिया र युक्रेनबीच युद्ध सुरु भएयता हालसम्म ५५ हजार रसियन सैनिकको मृत्यु भएको विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment