बहुमूल्य सुन ( गद्यकविता )

०५ साउन, काठमाडाैं ।

बहुमूल्य सुन, तिमीलाई कसले नेपाल ल्यायो ?
नेपथ्यबाट गृहमन्त्रीले साथ दिए कि ?
नेपथ्यबाट अर्थमन्त्रीले साथ दिए कि ?
नेपथ्यबाट गभर्नरले साथ दिए कि ?
नेपथ्यबाट प्रधानमन्त्रीले साथ दिए कि ?
नेपथ्यबाट राष्ट्रपतिले साथ दिए कि ?
नेपथ्यबाट आई . जी . पीले साथ दिए कि ?
नेपथ्यबाट प्रधान सेनापतिले साथ दिए कि ?
सियो पनि छिर्न नसक्ने भन्सारबाट कसरी छिर्यौ ?
बहुमूल्य सुन मन्दिरको देवताजस्तो
जति केरकार गरे पनि अहँ केही बोल्दैन , अहँ केही बोल्दैन ।
बहुमूल्य सुन केही त बोल न तिमी ?
तिमीलाई सीमान्तकृतवर्गले हेर्न सक्दैन
तिमीलाई निम्नवर्गले छुन सक्दैन
तिमीलाई मध्यमवर्गले चलाउन सक्दैन
तिमीलाई चलाउने उच्चवर्ग हो , घरानियाँवर्ग हो , उच्चपदस्थवर्ग हो
तिमीलाई चलाउने तस्कर हो
तिमीलाई छुन सक्ने भ्रष्टाचारी हो
तिमीलाई चलाउने उच्चपदस्थ कर्मचारी हो
सियो पनि छिर्न नसक्ने त्रिभुवन विमानस्थलबाट कसरी छिर्यौ ?
बहुमूल्य सुन मन्दिरको देवताजस्तो
जति केरकार गरे पनि अहँ केही बोल्दैन , अहँ केही बोल्दैन ।
बहुमूल्य सुन , तिमीले रूप बदलेर आउनुको कारण के हो ?
कहिले एक किलोको बनेर आउँछौ
कहिले नौ किलोको बनेर आउँछौ
कहिले तेत्तीस किलोको बनेर आउँछौ
अहिले सय किलोको बनेर आएछौ
तिमी आउँदा आठ रेक्टरको भूकम्प बनेर आउँछौ
समुद्रको सुनामी बनेर आउँछौ
नेपथ्यमा गृहमन्त्री , अर्थमन्त्री , प्रधानमन्त्री , राष्ट्रपति को छन् ?
तिमी एक्लो छैनौ , मलाई विश्वास छ , अब त केही बोल ?
सियो नछिर्ने भन्सारबाट कसरी छिर्यौ ?
बहुमूल्य सुन मन्दिरको देवताजस्तो
केरकार गर्दा बल्लबल्ल बोल्यो
यो सबै सेटिङ ।

*** समाप्त ***
रचयिता : लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य
त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment