पोखरा-मुग्लिन सडकको पूर्वीखण्डमा कालोपत्रे गर्न सुरू

२१ जेठ, डुम्रे । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्ड कालोपत्र गर्न सुरू गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरू गरिएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न सुरू गरिएको छ ।

‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरु गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेछौं,’ प्रमुख सुवेदीले भने ।

चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उनले बताए। ‘यातायात आवागमनलाई सहजताका लागि पहिलो चरणमा दुई लेन कालोपत्र गरिन्छ, त्यसपछि अर्कोतर्फको सडकमा कालोपत्र गरिन्छ,’ सुवेदीले भने ।

यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए ।

सुवेदीले भने– निर्धारित समयमा पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौं, निर्धारित समयमा सडक निर्माणको काम सम्पन्न गरी सर्वसाधारणलाई सहज बनाउन प्रतिवद्ध छौं, अब सडक विस्तारअन्तर्गत सम्याउने र यसलाई क्रमिक रूपमा कालोपत्र गर्नेछौं ।

मापदण्डलगायत सबै पुगेका क्षेत्रमा यससँगै कालोपत्र गर्दै काम सम्पन्न गर्ने उनले बताए । पूर्वी खण्डको निर्माणका लागि २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । करिब ४१.४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ मा सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ। विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ ।

पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ। दुलेगौंडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समय–समयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन् । सडक विस्तारबाट हुने प्रदुषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरूले माग गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment