सुनको भाउ बजेट पश्चात ५ हजार २०० रुपैयाँले बढ्यो, शुक्रबार ८०० ले महङ्गियो

१९ जेठ, काठमाडाैं । बजेटपछि सुनको भाउ ५ हजार २०० रुपैयाँले बढेको छ । जठ १९ गते शुक्रबार तोलामा ८०० रुपैयाँले बढेर सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । शुक्रबारका लागि छापावाल सुनको भाउ १ लाख १३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार तोलामा ५०० रुपैयाँले छापावाल सुनको भाउ १ लाख १२ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यसअघि बजेटपछि जेठ १७ गते बुधबार तोलामा १ हजार ५०० रुपैयाँ र जेठ १६ गते मंगलबार २ हजार ४०० रुपैयाँले सुनको भाउ बढेको थियो ।

बजेट भाषणअघि लगातार ५ दिन गिरावट आएको सुनको भाउ सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएपछि वृद्धि हुँदै आएको छ । सरकारले बजेट मार्फत भन्सार दर बढाएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । व्यवसायीहरुले यसअघि प्रति दशग्राम सुनमा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा बजेट पश्चात १२ हजार ७५० रुपैयाँ पुर्याएको छ । सुनको भाउ वृद्धिलाई भन्सार दर मात्र नभई अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यले पनि साथ दिँदै आएको छ । सुनको भाउमा एक महिना नपुग्दै चार वटा नयाँ रेकर्ड कायम भएको छ ।

यस्तै सरकारले विदेशबाट फर्किएका पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने व्यवस्था गरेको छ । महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ । विगतमा विदेशबाट फर्कने यात्रुले ५० ग्राम भन्दा माथि सुन ल्याउदा मात्र कर तिर्नुपर्ने व्यवस्था थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि तेजावी सुनको भाउ १ लाख १२ हजार ७५० रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा काराेबार भएकाे थियाे । अघिल्लो दिनकाे तुलनामा बिहीबार ५०० रुपैयाँले बढेर तेजावी सुन कारोबार भएको थियो ।

यता चाँदीको भाउ पनि हिजो बिहीबारको तुलनामा २५ रुपैयाँले बढेर शुक्रबारका लागि १ हजार ४३५ रुपैयाँ निर्धारण गरिएको छ । शिजो बिहीबार चाँदीको भाउमा१५ रुपैयाँ वृद्धि हुँदै १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९७९ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔँस २३ रुपैयाँ ९२ डलरमा कारोबार भइरहेको छ । हिजो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ९६४ डलर तथा चाँदी २३ रुपैयाँ ५१ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment